'राष्ट्रिय सभा चुनावको तालिका बनाउँदै आयोग'

  • 5 जनवरी 2018
निर्वाचन आयोग

निर्वाचन आयोगको सिफारिसमा सरकारले राष्ट्रिय सभा चुनावको मिति घोषणा गरेसँगै निवाचन आयोगले तत्काल कार्यतालिका सार्वजनिक गर्ने जनाएको छ।

निर्वाचनका कतिपय प्रणाली नौलो भएकोले तयारीका लागि पर्याप्त समय चाहिने भन्दै आयोगले उक्त चुनावको लागि कम्तीमा एक महिना चाहिने सुझाव दिदैँ आएको थियो।

प्रमुख दलहरुबीच चलेको लामो वाक्युद्धपछि सरकारले चुनावको मिति घोषणा गरेको हो।

आफूले प्रस्ताव गरेको मितिको अघिल्लो दिन अर्थात् माघ २४ गते चुनाव गर्ने निर्णय सरकारले गरे पनि आयोगले आफ्नो निम्ति यो समयावधि पर्याप्त हुने जनाएको छ।

तरिका

आगामी कार्यतालिका बारेमा निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ''अब हामीले मतदाता नामावलीको र मतपत्रको नमूना तयार गर्ने, त्यस्तै गरी निर्वाचन अधिकृतहरुको नियुक्तिको प्रकृया अघि बढाउने तथा मतदाताहरुलाई मतसंकेत गर्ने तरिका पनि सिकाउनुपर्ने हुन्छ। हामीले एकदुई दिनभित्रै राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्छौं।''

राष्ट्रिय सभा निर्वाचन एकल संक्रमणीय कि बहुमतीय प्रणाली भन्नेमा लामो विवाद थियो। त्यसले आयोगलाई समेत अन्योलमा पारेको थियो।

तर दलीय मतभेदकाबीच राष्ट्रपतिले अध्यादेश जारी गरेपछि राष्ट्रिय सभा निर्वाचनको बाटो खुलेको हो।

नयाँ संवैधानिक व्यवस्थाअनुसार राष्ट्रिय सभा निर्वाचन हुन लागेकोले उक्त चुनावका मतदान तथा गणना विधिसमेत नौलो भएको आयोगको भनाइ छ।

एमालेले एक महिनाको समय लामो भएको भन्दै असन्तुष्टि जनाएको थियो।

तस्वीर कपीराइट PM Secretariat

तर आयोगले नियमावली-निर्देशिका तयार गर्न, मतगणना विधि निर्माण गर्न समय बढी लाग्ने वाध्यता सुनाएको छ।

हेरफेर

प्रवक्ता ढकालले भने, ''एकल संक्रमणीय प्राणालीको मतदान गर्ने तरिका र मुख्य विषय भनेको मतगणना गर्ने तरिकाको बारेमा पनि हामीले छलफल गर्नुपर्ने हुन्छ। निर्वाचन अधिकृतको नियुक्ति हुने बित्तिकै यो विषयमा हामी तालिम दिन्छौं।''

समयको चापका कारण मनोनयन दर्ता, उजुरी, दावी-विरोध, प्रचारप्रसारका निम्ति कानुनले अनिवार्य गरेको समयसीमामा कुनै हेरफेर नगर्ने आयोगको भनाइ छ।

तर आन्तरिक कार्यतालिका आवश्यकता हेरेर हेरफेर गर्ने उसको तयारी छ।

निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी २ हजार ५६ जना मतदाता हुनेछन्।

सरकारले प्रदेश प्रमुख नियुक्त नगरेकाले आयोगले प्रदेश सभाका समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न बाँकी नै छ।

सरकारले प्रदेश प्रमुखको नियुक्ति गरे लगत्तै ती प्रमुख समक्ष नतिजा सिफारिस गर्ने आयोगले जनाएको छ।