'राष्ट्रिय सभा चुनाव माघ २४ मा'

  • 5 जनवरी 2018
मन्त्रिपरिषद्को कार्यालय

नयाँ सरकार गठनको बाटो खुल्ला गर्ने भनिएको राष्ट्रिय सभाको चुनाव आउँदो माघ २४ गते गर्ने निर्णय सरकारले गरेको छ।

त्यस्तो निर्णय गरेको मन्त्रिपरिषद्को विशेष बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी भने तोकेन।

भावी सरकारको नेतृत्व गर्न व्यग्र रहेको नेकपा एमालेले चाँडै चुनाव गर्न आग्रह गरिरहेका बेला सरकारले निर्वाचन आयोगद्वारा प्रस्ताव गरिएकोभन्दा एक दिन पहिले मिति तोकेको छ।

यसै साता निर्वाचन आयोगले त्यसको एकदिनपछि माघ २५ गते राष्ट्रियसभाको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो।

तयारी

सरकारी निर्णयको आलोचना गर्दै नेकपा एमालेका एक नेताले छिटो गर्न सकिने चुनाव पछि सारेर सरकारले आफ्नो सत्ता बसाइ लम्ब्याउने काम गरेको प्रतिक्रिया दिएका छन्।

शुक्रवारको मन्त्रिपरिषद्को निर्णयसँगै गै निर्वाचन आयोगलाई त्यसको तयारी सुरु गर्न बाटो खुलेको छ।

५९ सदस्य रहने राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिलासहित ८ जनाको दरले ५६ जना निर्वाचित हुने कानुनी व्यवस्था छ।

सरकारको सिफारिसमा एक महिलासहित अन्य तीनजना राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ।

शुक्रवारको मन्त्रिपरिषद्को बैठकमा प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानीका विषयमा छलफल भएपनि त्यसबारे कुनै निर्णय हुन सकेन।

सिँचाइ मन्त्री सञ्जय गौतमको भनाइमा यो विषयमा थप छलफलपछि मात्रै सरकारले निर्णय लिनेछ।

उनले भने, "यो विषय संवेदनशील छ, प्रदेशहरूमा विभिन्न प्रतिक्रिया देखिएको छ। यस विषयमा थप छलफल गरी निर्णय गर्नु पर्नेछ।"

आलोचना

नयाँ सरकार गठनको निम्ति पूर्ण आकारको प्रतिनिधिसभाको घोषणा गर्न राष्ट्रिय सभाको चुनावको परिणाम आवश्यक पर्नेमा निर्वाचन आयोगले जोड दिँदै आएको छ।

नेकपा एमालेका एक सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभाको चुनावमा मिति पर सारेर सरकारले आफ्नो सत्ताको आयु लम्ब्याउन खोजेको प्रतिक्रिया दिएका छन्।

उनले भने, "हामीलाई गहिरो आशंका के छ भने सरकार आफ्नो सत्ताको आयु लम्ब्याउने र आफ्नो स्वार्थ अनुकूलको निर्णय गर्न लागिरहेको छ।"

प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा समेत सरकारले ढिलाइ गर्न नहुने नेकपा एमालेले जोड दिँदै आएको नेता ज्ञवालीको भनाइ छ।

प्रदेश प्रमुख तोक्ने विषयमा अन्योल भए हरेक प्रदेशका उच्च अदालतका न्यायाधीशलाई अस्थायी रुपमा त्यो जिम्मेवारी सुम्पिन सकिने उनको सुझाव छ।