प्रत्यक्ष वार्ताका लागि उत्तर कोरिया सहमत

  • 5 जनवरी 2018
तस्वीर कपीराइट Getty Images
Image caption वार्ता उत्तर कोरियाली खेलाडीहरूले सहभागिता जनाउने उपायका बारेमा केन्द्रित रहनेछ

उत्तर कोरियाले आगामी मंगलबार दक्षिण कोरियासँग प्रत्यक्ष वार्ता गर्न सहमति जनाएको छ।

गएको दुई वर्षमा पहिलो पटक त्यस्तो वार्ता हुन लागेको हो।

ती वार्ताहरू आगामी महिना हुन लागेको शीतकालीन ओलिम्पिक्सका सम्बन्धमा केन्द्रित रहने अनुमान गरिएको छ।

प्रस्ताव

दक्षिण कोरियाको एकीकरण मामिला मन्त्रालयले भनेको छ, "आगामी हप्ता उच्चतहको वार्ताका लागि गरिएको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको छ।"

दुई दिनअघि मात्र पुन: सक्रिय तुल्याइएको दुई देशबीच सीमावारपार प्रत्यक्ष टेलिफोन सम्पर्क 'हट्लाइन' मार्फत् वार्ता गर्ने सहमतिको खबर आएको हो।

नौ जेनुअरीमा हुने उक्त बैठक आगामी फेब्रअरीमा दक्षिण कोरियामा हुने शीतकालीन ओलिम्पिक्समा उत्तर कोरियाली खेलाडीहरूले सहभागिता जनाउने उपायका बारेमा केन्द्रित रहनेछ।

दक्षिण कोरियाको एकीकरण मामिला मन्त्रालयका प्रवक्ता बेक टे-ह्युन्ले भने, "दुई पक्षबीच दस्तावेजहरू हस्तान्तरण गरी वार्ताका विषयहरू कार्यदल तहमा छलफल गर्ने निर्णय गरिएको छ।"

छलफल

उनले भने, "एजेन्डाका सन्दर्भमा भन्नुपर्दा दुवै पक्षबीच 'प्युङ्चाङ् शीतकालीन ओलिम्पिक्स'का विषयमा वार्ता हुनेछ। दक्षिण र उत्तर कोरियाबीचको सम्बन्ध सुधार गर्ने उपायका विषयमा पनि छलफल हुनेछ।"

दुई कोरियाबीचको पाम्मून्जम् क्षेत्रमा त्यस्तो बैठक हुने अनुमान गरिएको छ।

वार्ता पुन: आरम्भ गर्ने उत्तर कोरियाको सहमति दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले संयुक्त सैनिक अभ्यास स्थगित गर्ने निर्णय गरेको केही घण्टापछि नै आएको हो। उत्तर कोरियाले त्यस्तो सैनिक अभ्यासलाई आफ्नो देशमाथिको अतिक्रमण भन्ने गरेको छ।

सउलका अनुसार ओलिम्पिक्समा सहभागिताको विषय सल्टिसकेपछि मात्र उत्तर कोरियाको परमाणु अस्त्र कार्यक्रमलगायतका अन्य विषयमा कुराकानी हुन सक्ने अपेक्षा गरिएको छ। त्यस्तो टिप्पणीपछि ती दुई देशबीच हुन लागेको वार्ता अगाडिको उत्साहको वातावरण केही सेलाएको छ।

आह्वान

चीनले यो समाचारको स्वागत गरेको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता गेङ् शाङ्ले दुवै पक्षलाई खेल प्रतियोगिताका सन्दर्भमा हुन लागेको वार्ताको सदुपयोग आपसी सम्बन्धलाई पुनर्जीवित पार्नमा गर्न आह्वान गरेका छन्।

ती प्रवक्ताले भने, "हामी कोरियाली प्रायद्वीपमा देखा परेको पछिल्लो सकारात्मक गतिविधिलाई स्वागत गर्छौं। हामीलाई आशा छ कि सबै सम्बन्धित पक्षले शीतकालीन ओलिम्पिक्सको अवसर छोपेर बीचको बाटो अपनाई भेटघाट गर्ने तथा वार्ता र छलफलमार्फत् समस्याहरू शान्तिपूर्ण रूपमा सुल्झाउने सही बाटोमा फर्कनेछन्। साथै कोरियाली प्रायद्वीपको तनाव साम्य पार्न वास्तविक प्रयत्नहरू हुनेछन् भन्ने पनि हामीले विश्वास लिएका छौँ।"

तर जापानले भने यसलाई सावधानीपूर्वक हेर्ने बताएको छ।

जापानका रक्षामन्त्री इत्सुनोरी ओनोडेराले भने, "यो पछिल्लो गतिविधिमाझ पनि उनको देश सावधान अवस्थामा रहने छ किनकि उत्तर कोरियाले उसको अस्त्र कार्यक्रम जारी नै राख्‍नेछ।"

वार्ता र आक्रोश

उनले भने, "उत्तर कोरिया वार्ता र आक्रोशको निरन्तर चरणमा रहने गर्छ। तर अवस्था जे भएपनि उसले आफ्नो परमाणु अस्त्र र क्षेप्यास्त्र विकास कार्यक्रमलाई जारी नै राख्‍नेछ। त्यही भएर हामी आफ्नो चेतावनी र निगरानी गतिविधिलाई खुकुलो तुल्याउने छैनौँ।"

सन् २०१५ को डिसेम्बर महिनापछि उत्तर र दक्षिण कोरियाबीच हुन लागेको यो पहिलो वार्ता हो। र, छलफलमा को को सहभागी हुनेछन् भन्ने चाहिँ पक्का भैसकेको छैन। केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन् जे-इन्‌ले आफूले शीतकालीन ओलिम्पिक्सलाई हाल प्राविधिक रूपमा युद्धको अवस्थामा रहेका दुई कोरियाबीच सम्बन्ध सुधार गर्ने अभूतपूर्व अवसर भनेका थिए।