नयाँ चरणको वार्ताप्रति मर्केल आशावादी

  • 7 जनवरी 2018
मर्केल र सुल्ट्स तस्वीर कपीराइट Reuters

चान्सलर एंगेला मर्केलले राजनीतिक दलहरुबीच गठबन्धन निर्माण हुने आशा व्यक्त गर्दै नयाँ चरणको राजनीतिक वार्ता सुरु गरेकी छन्।

आमचुनाव भएको तीन महिना बितिसक्दा पनि जर्मनीमा नयाँ सरकार गठन हुन सकेको छैन।

मर्केलले स्थिर गठबन्धन बनाउनका लागि पाँच दिनसम्म वार्ता जारी राख्ने भएकी छन्।

सम्भाव्य राजनीतिक गठबन्धनका लागि मर्केलको क्रिश्चियन डिमोक्रेट्स र ऊ निकटको क्रिश्चियन सोसियल युनियन र सोसल डिमोक्रेट्स वार्तामा सहभागी हुने भनिएको छ।

मर्केलले भनिन्, "म यी वार्ताहरुमा आशावादी भएर सहभागी हुन गइरहेको छु। आगामी दिनमा हामीहरु सामू निकै धेरै कामहरु रहेका छन्। हामी आवश्यक काम गर्नेछौं ताकि राम्रो प्रतिफल पाउन सकियोस्।"

धेरैले यसलाई गठबन्धन बनाउने मर्केलको अन्तिम अवसरको रुपमा हेरेका छन्।

मध्यमार्गी सोसियल डिमोक्रेट्स (एसपीडी) ले विगत आठ वर्षसम्म मर्केलको पार्टीसँग सहकार्य गरिसकेको छ।

दबाब

तर गत सेप्टेम्बरको चुनावमा ऐतिहासिक रुपमा कमजोर प्रदर्शन गरेपछि एसपीडीका नेता मार्टिन सुल्ट्सले आफ्नो दल विपक्षमा बस्ने घोषणा गरिसकेका छन्।

तर मर्केलले अन्य दलहरुसँग गठजोड बनाउन नसकेपछि एसपीडीमाथि मर्केलसँग सहकार्य गर्दै अघि बढ्न दबाब बढिरहेको छ।

अब मर्केलले आफूहरुबीच साझा मुद्दा रहेको स्मरण गराउँदै एसपीडीका नेताहरुलाई मनाउनु पर्नेछ।

बैठकमा सहभागी हुन आउने क्रममा मर्केलले वार्ता सकारात्मक हुनेमा आशा व्यक्त गरिन्।

सुल्ट्सले चाहिँ वार्ताको परिणामबारे अहिले नै केही भन्न नसकिने बताउँदै "नयाँ समयले नयाँ राजनीति" को माग गर्ने गरेको टिप्पणी गरे।

फ्रान्स र अन्य युरोपेली संघ इयुका मित्रशक्तिले जर्मनीलाई इयुको स्थिरताको खम्बा मान्ने गर्छन् र उनीहरुले मर्केल सफल हुने आशा व्यक्त गरेका छन्।

विमति

तर आइतवार प्रकाशित एक जनमत सर्वेक्षणका अनुसार तीनमध्ये एक मतदाता मर्केलको प्रयास विफल हुने ठान्दछन्।

तर ५४ प्रतिशत सहभागीहरुले ठूलो दलहरुको गठबन्धन जर्मनीको लागि सकारात्मक हुने बताएका छन्।

राजनीतिक वार्ताको क्रममा आप्रवासन, युरोप, कर र स्वास्थ्य सेवा दलहरुबीच विमतिका प्रमुख मुद्दा हुन सक्छन्।

बर्लिनस्थित बीबीसीका डेमियन मकगिनिस भन्छन्, "जर्मनी अहिले संकटमा छैन किनभने त्यहाँ कामचलाउ सरकार छ। तर त्यसले जर्मनी र इयुबारेका महत्त्वपूर्ण निर्णय गर्न सक्दैन।"

उनी भन्छन्, "त्यसैले अहिले गठबन्धन निर्माण गर्नका लागि दबाब बढिरहेको छ। सबै कुरा मिलेमा आउने इस्टर पर्व सम्ममा जर्मनीमा नयाँ गठबन्धन सरकार बन्न सक्छ।"