‘मेरो टिप्पणी ट्रम्प पुत्रप्रति लक्षित थिएन’

  • 8 जनवरी 2018
ब्यानन तस्वीर कपीराइट Reuters

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसम्बन्धी एउटा विवादास्पद पुस्तकमा एकजना पत्रकारसँग गरेको उत्तेजनात्मक टिप्पणीबारे उनका पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले स्पष्ट पारेका छन्।

माइकल वूल्फको नयाँ पुस्तक 'फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस'मा आरोपहरू लगाइएका हुन्।

उनले सन् २०१६ को जुन महिनामा ट्रम्पका छोरा र रूसीहरूको एउटा समूहबीच भएको भेटघाटलाई उल्लेख गरेका हुन्।

तर आइतवार ब्याननले आफ्नो भनाइ ट्रम्पका पूर्व सहयोगी पल म्यानफोर्टप्रति लक्षित भएको बताए।

ब्याननले मानसिक सन्तुलन गुमाए: ट्रम्प

'स्थिर र प्रतिभाशाली' व्यक्ति हुँ: ट्रम्प

अनुसन्धान

सिनेट, हाउस अफ रेप्रेजेन्जेटिभ्स र एउटा विशेष समितिले पनि अमेरिकी राष्ट्रपतीय चुनावमा रूसले गरेको भनिएको हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन्।

क्रेम्लिन र राष्ट्रपति ट्रम्प दुवैले ती आरोपहरु अस्वीकार गर्दै आएका छन्।

तस्वीर कपीराइट EPA

एक्सिओस समाचार वेबसाइटले पहिलो पटक लेखेको एउटा अभिव्यक्तिमा ब्याननले डोनल्ड जुनिअर 'एक देशभक्त र असल मान्छे दुवै' भएको बताएका छन्।

उनले भनेका छन्, "मेरा टिप्पणीहरू पल म्यानफोर्टप्रति लक्षित थिए जो रूस कसरी सञ्चालित हुन्छ भन्नेबारे अनुभव र ज्ञान बटुलेका एक अभियान पेशाकर्मी हुन्। मैले दोहोर्‍याउनुपर्दा ती टिप्पणीहरू डोनल्ड जुनिअरप्रति लक्षित थिएनन्।"

प्रयास

ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरू नयाँ पुस्तकले निम्त्याएका असरलाई न्यून गर्ने प्रयासमा राष्ट्रपतिसँगै उभिएका छन्।

यसअघि ट्रम्पले आफूबारे लेखिएको पुस्तक कल्पनामा आधारित भएको टिप्पणी गरेका थिए।

उनले राष्ट्रपति पदका लागि आफू योग्य रहेको पनि बताएका थिए।

सीआइएका प्रमुखले पनि किताबमा उल्लेख गरिएका कुरा 'पूर्ण रूपमा काल्पनिक' भएको बताएका थिए।