‘क्षतिग्रस्त पानीजहाजबाट धेरै चुहावट भएको छैन’

  • 9 जनवरी 2018
जहाज तस्वीर कपीराइट AFP/getty

चिनियाँ अधिकारीहरुले भनेका छन् पूर्वी चिनियाँ सागरमा रहेको क्षतिग्रस्त इरानी तेलवाहक पानीजहाजबाट उल्लेखनीय मात्रामा तेल चुहिएको पाइएको छैन।

चीनको यातायात मन्त्रालयका अनुसार सो जहाज अझै जलिरहेको छ। तीन दिन अघि उक्त पानीजहाज एक मालबाहक पानीजहाजसंग ठोक्किएको थियो।

उक्त पानीजहाजले करिब दश लाख ब्यारेल कन्डेनसेट भनिने एक प्रकारको विषाक्त तथा विष्फोटक तेल पदार्थ बोकेको थियो।

चीनले ती पदार्थ चुहिएर हुने थप विनाश रोक्नका निम्ति केही पानीजहाज त्यसतर्फ पठाएको छ।

उद्धार

यसअघि अधिकारीहरुले सो पानीजहाजमा रहेका र हराइरहेकाहरुको खोज तथा उद्धार कार्यलाई खराब मौसमले प्रभावित पारिरहेको बताएका थिए।

एक जनाको शव प्राप्त भएको छ। अझै ३१ जना हराइरहेका छन्।

सो पानीजहाजमा ३० इरानी र दुई बांग्लादेशी थिए।

मालबाहक पानीजहाजमा रहेका २१ जना चिनियाँ नागरिकहरुको भने उद्धार भइसकेको छ।

शांघाइ शहरको तटभन्दा करिब २६० किलोमिटर परको समुद्री क्षेत्रमा ती दुई पानीजहाज एक आपसमा जुधेका थिए।

उक्त दुर्घटनाबारे औपचारिक अनुसन्धान मंगलबारबाट शुरु हुने बताइएको छ।