इरानमा हजारौँ मृत्यदण्डबाट जोगिन सक्ने

  • 10 जनवरी 2018
इरान तस्वीर कपीराइट AFP

इरानको कानुनमा भएको सुधारका कारण त्यहाँ लागूऔषधसम्बन्धी अपराधमा दोषी ठहर भई मृत्युदण्ड सुनाइएका हजारौँ बन्दीहरूको ज्यान जोगिन सक्ने देखिएको छ।

लागुऔषधसम्बन्धी केही अपराधमा मृत्युदण्ड हटाइएको छ र त्यहाँका न्यायपालिकाका प्रमुखले मृत्युदण्ड सुनाइएका ती फैसलामा समीक्षा गर्न सकिने बताएका छन्।

परिमाण

यी नयाँ सुधार पुराना फैसलाका हकमा पनि लागू हुने बताइएको छ। यसको अर्थ हो पाँच हजार जति बन्दीको ज्यान जोगिन सक्छ।

इरानले हरेक वर्ष सयौँलाई मृत्युदण्ड दिने गरेको छ। तीमध्ये अधिकांश लागूऔषधसँग सम्बन्धित मुद्दा हुने गर्छन्।

गत अगष्टमा इरानको संसद्ले कति परिमाणको लागूऔषधको अपराधमा मृत्युदण्ड दिने भन्ने प्रावधानमा फेरबदल गरेको थियो।

पुरानो कानुनअनुसार करिब ३० ग्राम कोकिन साथमा फेला परेमा मृत्युदण्ड हुन सक्थ्यो।

त्यसलाई अब दुई किलोग्राममा बढाइएको छ।

अफिम तथा गाँजाको हकमा परिमाणलाई दश गुणाले बढाई ५० किलोग्राम पुर्‍याइएको थियो।

न्यायपालिका प्रमुख आयातोल्ला सादेग लार्जानीले स्थानीय सन्चारमाध्यमसँग बोल्दै अब अधिकांश त्यस्ता मृत्युदण्ड लामो अवधिको जेल सजायमा परिणत हुने बताए।

नर्वेमा रहेको इरान मानव अधिकार नामक स्वतन्त्र संस्थाले यो सुधारको स्वागत गरेको छ।