परमाणु सम्झौता नतोड्न ट्रम्पलाई इयुको आग्रह

  • 11 जनवरी 2018
युरोपेली संघ तस्वीर कपीराइट Reuters

युरोपेली संघ (इयु) ले संयुक्त राज्य अमेरिकालाई इरानसंगको परमाणु सम्झौताबाट पछाडी नहट्न आग्रह गरेको छ।

त्यस्तो सम्झौता क्षेत्रीय सुरक्षाका लागि निकै महत्वपूर्ण भएको इयुको भनाइ छ।

इरानको परमाणु कार्यक्रमका बारे सन् २०१५ भएको सम्झौतालाई भंग गर्ने सम्बन्धमा अमेरिकी राष्ट्रपति ट्रम्पले निर्णय लिनसक्ने एक दिन अगाडि इयुको त्यस्तो आग्रह आएको छ।

बीबीसीका युरोप संवाददाता डेमिएन ग्रामाटिकस् भन्छन् युके, फ्रान्स र जर्मनी लगायत युरोपेली संघले इरानसंग भएको परमाणु सम्झौताप्रतिको आआफ्नो समर्थन दोहो-याएका छन्।

त्यस्तो सम्झौताको आलोचना गर्ने गरेका राष्ट्रपति ट्रम्पले त्यसलाई खारेज गर्ने निर्णय लिन सक्ने एकदिन अगाडि नै उक्त सम्झौताप्रति समर्थन देखिएको छ।

ब्रिटेन, फ्रान्स, जर्मनी र इरानका विदेशमन्त्रीहरु सहभागी ब्रसल्समा आयोजित एउटा बैठकमा इयुकी विदेशनीति प्रमुख फेडेरिका मोगेरिनीले भनिन्, उक्त सम्झौताले काम गरिरहेको छ र त्यसलाई निरन्तरता दिइनु पर्छ।

सुझाव

यो युरोपेली देशहरुले अमेरिकालाई एकमतले दिएको सुझाव हो।

झण्डै तीन वर्ष पुरानो उक्त सम्झौता अन्तर्गत इरानले आफ्नो परमाणु कार्यक्रमलाई सिमित तुल्याउने प्रतिबद्धता जनाएको थियो।

बदलामा उ विरुद्धका विभिन्न प्रतिबन्धहरु हटाइएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सम्झौतालाई "एकदमै खराब" भनेका थिए।

र उनले केही प्रतिबन्धहरु पुन: लागू गर्ने निर्णय गर्न सक्नेछन्।

ट्वीटर

सामाजिक संजालको वेबसाईट ट्वीटरमा सन्देश लेख्दै इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफले भने, उनले वाशिंगटनले सम्झौताको पालना गरेमा मात्र इरानले पनि त्यसलाई पालना गर्ने भनी ब्रसल्समा आफ्ना युरोपेली समकक्षीहरुलाई बताएका छन्।

तस्वीर कपीराइट AFP

इयुकी विदेशनीति प्रमुख फेडेरिका मोगेरिनीले उक्त सम्झौताले इरानको परमाणु कार्यक्रममाथि निगरानी राखेको बताइन्।

उनका अनुसार अन्तर्राष्ट्रिय परमाणु उर्जा एजेन्सीले जारी गरेको नौ वटा प्रतिवेदनले इरान हाल गैरसैनिक परमाणु गतिविधिमा मात्र संलग्न रहेको देखाएका छन्।

ब्रिटेनका विदेशमन्त्री बोरिस जोन्सनले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्न हाल कायम सम्झौता भन्दा गतिलो अर्को उपाय कसैले प्रस्ताव गर्न नसकेको बताए।

तर ब्रसल्समा बैठक गरेका विदेशमन्त्रीहरुले इरानलाई उसको जारी बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमसंग सम्बन्धित मुद्दाहरु र यमन तथा सिरिया लगायत उक्त क्षेत्रमा जारी संकटमा इरानको संलग्नताका बारे उक्त देशलाई जवाफदेही तुल्याउने कामलाई निरन्तरता दिइनु पर्नेमा पनि जोड दिएका छन्।