‘अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह कम गर’

  • 16 जनवरी 2018
ब्यांक

बजारमा तरलता अर्थात् लगानीयोग्य रकममा उतारचढाव देखिन थालेपछि राष्ट्र ब्याङ्कले कर्जा प्रवाह कम गर्न ब्याङ्क तथा वित्तीय संस्थालाई भनेको छ।

घर, जग्गा, गाडी खरिद लगायतका अनुत्पादक क्षेत्रको सट्टा राष्ट्रको प्राथमिकतामा पर्ने कृषि लगायतका क्षेत्रमा कर्जा विस्तार गर्न पनि केन्द्रीय ब्याङ्कले सुझाएको अधिकारीहरूले बताएका छन्।

तर ब्याङ्क तथा वित्तीय संस्थाहरूले बजारको माग अनुसार नै कर्जा प्रवाह गरिएको बताएका छन्।

वित्तीय संस्थाहरूले कर्जा लगानीमा निकै जोड दिने गर्ने प्रवृत्तिका कारण अचेल ब्याङ्कको तरलतामा चाप परेको राष्ट्र ब्याङ्कले बताउँदै आएको छ।

अनुरोध

अब कर्जा प्रवाह गर्दा उत्पादक क्षेत्रमा बढी ध्यान दिन अनुरोध गरिएको राष्ट्र ब्याङ्कका सह-प्रवक्ता राजेन्द्र पण्डितले बताए।

उनले भने, "निक्षेप अर्थात् स्रोतको संकलनभन्दा त्यसको दोब्बर हुने किसिमले कर्जा प्रवाह गर्न भएन। यसरी प्रवाहित कर्जा पनि अहिलेको देशको माग अनुसार उत्पादनशील कृषि, ऊर्जा, उद्योगका क्षेत्रमा बढी प्रवाह गर्नुपर्‍यो अनि घर, जग्गा, गाडी जस्ता क्षेत्रमा लगानी गर्न हुँदैन भन्ने राष्ट्र ब्याङ्कको अनुरोध हो।"

ब्याङ्कहरूले चाहिँ सरकारले विकास बजेट खर्च गर्न नसकेका कारण बजारमा तरलताको अभाव देखिएको बताउने गरेका छन्।

यस्तै उत्पादक क्षेत्रमा लगानी गर्ने विषयमा पनि ब्याङ्कहरूको फरक मत देखिएको छ।

विमति

ब्याङ्कर्स संघका पूर्व उपाध्यक्ष तथा वर्तमान सदस्य रत्नराज बज्राचार्यले भने, "हाम्रो अर्थतन्त्र आयातमा आधारित छ। त्यसैले आयातमा लगानी गर्छौँ र आयातमा लगानी गर्‍यौँ भन्दैमा अनुत्पादक भन्छन्। हाम्रा सबै लगानीलाई अनुत्पादक भन्न सकिँदैन।"

वित्तीय क्षेत्रले निक्षेप पुँजी तथा कर्जा अनुपात (सीसीडी रेसियो) भित्र कर्जा प्रवाह गर्न नसक्नेकाले तरलतामाथि चाप परेको कतिपय विज्ञहरू बताउँछन्।

त्यस्तै रेमिट्यान्स वृद्धिदर घट्नु र आयात उच्च अंकले बढ्नु जस्ता कारणले पनि तरलतामाथि चाप परेको उनीहरूको निष्कर्ष छ।

बेलैमा यसको दिगो समाधान नगरे यसले कर्जामा समस्या निम्त्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।

सम्बन्धित सामग्री