प्रतिदिन ३०० रोहिंज्या फिर्ता पठाइने

  • 16 जनवरी 2018
रोहिंज्या शरणार्थी तस्वीर कपीराइट Reuters

बांग्लादेश र म्यानमारले लाखौं रोहिंज्याको स्वदेश फिर्ती प्रक्रियाबारे उनीहरुबीच भएको सहमतिको विवरण दिइरहेका छन्।

म्यानमारस्थित एक वरिष्ठ सरकारी अधिकारीले शुरुमा दुई वटा आगन्तुक केन्द्र खोलिने र आगामी हप्तादेखि शुरु हुने गरी प्रत्येकले दैनिक डेढ सय शरणार्थी स्वीकार्ने बताए।

बांग्लादेशले छिमेकी म्यानमारबाट आफ्नो देशतर्फ शरण खोज्दै आइपुगेका लाखौं रोहिंज्याहरुलाई दुई वर्षभित्र फिर्ता पठाइसक्ने आशा व्यक्त गरेको छ।

शरणार्थी फिर्तीको समयतालिकामा सहमति

रोहिंज्यामाथि आक्रमण गरेको स्वीकार

चिन्ता

गत अगष्ट महिनामा म्यानमारको राखाइन राज्यमा हिंसा भड्किएयता त्यहाँबाट साढे ६ लाखभन्दा बढी रोहिंज्या शरणार्थी बांग्लादेश पुगेका थिए।

तर शरणार्थीहरुको सहायतामा संलग्न संस्थाहरुले जबर्जस्ती ती रोहिंज्यालाई घर फिर्ता गर्ने योजनाप्रति आफ्नो चिन्ता प्रकट गरेका छन्।

संयुक्त राष्ट्रसंघ शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयका एक प्रवक्ताले म्यानमारले यो संकट पछाडिको कारणलाई पहिले सम्बोधन गर्नु पर्ने भनेको छ।

घर फर्कंदा आफू सुरक्षित रहनेछु भन्ने बारे शरणार्थी विश्वस्त हुन सकेपछि मात्र उनीहरु फर्कन पर्ने उनले जनाए।

रोयटर्स समाचार संस्थाका अनुसार दुई देशबीच भएको सहमतिमा फिर्ती प्रक्रिया कहिलेदेखि शुरु हुने प्रष्ट छैन।

तर त्यसमा फर्कनेहरुका लागि म्यानमारले शुरुमा अस्थायी बसोबासको व्यवस्था मिलाउने र पछि घर बनाइदिने उल्लेख भएको उसले जनाएको छ।

बांग्लादेशका विदेश सचिव मोहमद शाहिदुल हकले बीबीसी बांग्लालाई बताए अनुसार शुरुमा बांग्लादेशले म्यानमार समक्ष प्रति साता १५ हजारका दरले रोहिंज्या फिर्ता लैजान प्रस्ताव गरेको थियो। तर पछि दिनको तीन सय वा साताको १५ सयमा सहमति भएको थियो।

तीन महिना बितेपछि दुवै पक्षले सो सहमति पालनाको समीक्षा गर्ने पनि बताइएको छ।

स्वेच्छिक

दक्षिणपूर्वी एसियाका निम्ति बीबीसी सम्वाददाता जनाथन हेड भन्छन्- दुवै देशले स्वदेश फिर्ती प्रक्रिया स्वेच्छिक हुने बताएका छन्।

तर अधिकांश शरणार्थीले उनीहरुको सुरक्षा सुनिश्चित भएमा, उनीहरुका घर पुनर्निर्माण भएमा तथा उनीहरुलाई आइन्दा आधिकारिक विभेद नगरिने भएमा मात्र फर्कने बताउने गरेका छन्।

प्रारम्भिक सहमतिको मस्यौदामा हस्ताक्षर भएको बेला अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेष्टी इन्टरनेशनलले विभेदको प्रणाली विद्यमान रहेसम्म सुरक्षित तथा सम्मानपूर्वक स्वदेश फिर्ती हुन नसक्ने बताएको थियो।

फर्कन नचाहनेहरुलाई जबर्जस्ती नफर्काइने आशा पनि उसले व्यक्त गरेको थियो।