'प्रदेश सरकार गठनको व्यवस्था तत्काल'

  • 18 जनवरी 2018
सरकार

प्रदेश प्रमुखको नियुक्तिसंगै प्रदेश सरकार गठनको बाटो खुलेपछि अब आगामी हप्ताभित्र त्यसको आवश्यक व्यवस्था गरिने सरकारका एकजना मन्त्रीले बताएका छन्।

संवैधानिक व्यवस्था अनुसार अब राष्ट्रपतिले प्रदेश प्रमुखलाई शपथ दिलाउनु पर्नेछ।

तर त्यसबीचमा प्रदेशमा उनीहरूको कार्यालय र आवश्यक कर्मचारी खटनपटन भइसक्ने बताइएको छ।

बुधवारको मन्त्रिपरिषद्‍को बैठकले प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख तोके लगत्तै अब तोकिएको केन्द्रमा कार्यालयको स्थापना र आवश्यक कर्मचारीको व्यवस्था तत्काल अगाडि बढाउने काम थालिएको कानूनमन्त्री यज्ञबहादुर थापाले बताए।

प्रक्रिया

प्रदेश प्रमुख तोक्न केही ढिलाई भएको तर अबको प्रक्रियामा अलमल नहुने उनको भनाई छ।

उनले भने, "प्रदेश प्रमुखको मर्यादा अनुसार उहाँहरूलाई गर्नुपर्ने व्यवस्था सरकारले गर्छ। उहाँहरू कहाँ बस्नेलगायत कार्य सञ्चालन गर्न आवश्यक कर्मचारीको पनि व्यवस्थाको काम अगाडि बढिसकेको छ।"

संविधानको धारा १६३ मा प्रदेश प्रमुख सम्बन्धी व्यवस्था गरिएको छ।

उक्त व्यवस्था अनुसार प्रदेश प्रमुखले निर्वाचनको परिणाम घोषणा भएको २० दिन भित्र प्रदेश सभाको बैठक बोलाउनु पर्नेछ।

नतिजा घोषणा

सो बैठक बस्नु अगाडि प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ।

त्यस अघि राष्ट्रपति समक्ष प्रदेश प्रमुखहरूको शपथ ग्रहण हुनुपर्ने भएकोले त्यस निम्ति पत्राचार गरिसकिएको वाणिज्यमन्त्री मीन विश्वकर्माले बताए।

उनले भने, "मन्त्रिपरिषद्को पत्र राष्ट्रपति कहाँ मुख्य सचिवमार्फत बुधवार नै पठाउने निर्णय भएको छ। राष्ट्रपतिको आफ्नो अनुकूल र मुलुकको परिस्थितिको आवश्यकता अनुसार छिट्टै बोलाउनुहुन्छ भन्ने मलाई लाग्छ। "

प्रदेश प्रमुखको नियुक्ति भएको सात दिनभित्र प्रदेशसभाको अन्तिम मत परिणाम उनी समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भएकोले परिणाम सार्वजनिक नगरी बसिरहेको निर्वाचन आयोगले बुधवार नै उक्त नतिजा घोषणा गरिसकेको छ।

अब प्रदेश प्रमुखको शपथ ग्रहण भएपछि परिणाम बुझाउने आयोगले जनाएको छ।