‘मौद्रिक नीतिमा परिमार्जन गर्न पर्दैन’

  • 20 जनवरी 2018
नेपाल

शोधनान्तर घाटा बढेको विवरण आइरहेका बेला राष्ट्र ब्याङ्कले अझै करिब एक वर्षका लागि पुग्ने विदेशी मुद्रा सञ्चित रहेकाले हाललाई मौद्रिक नीति परिमार्जन गर्न नपर्ने जनाएको छ।

केन्द्रीय ब्याङ्कले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना बित्दा विदेशबाट भित्रिने रकम बाहिरिनेको तुलनामा करिब ९ अर्ब रुपैयाँ कम अर्थात् शोधानन्तर घाटा रहेको छ।

राष्ट्र ब्याङ्कका अधिकारीहरूले हाल देशको ढुकुटीमा पर्याप्त विदेशी मुद्रा सञ्चित रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।

राष्ट्र ब्याङ्कका कार्यकारी निर्देशक नरबहादुर थापाले भने, "हामीसँग एक हजार ८५ अर्ब रुपैयाँ छ जुन ११ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। विदेशी विनिमय सञ्चिति आठ महिनालाई पुग्ने भन्दा बढी रहँदासम्म मौद्रिक नीतिमा फेरबदल गर्ने कुरा आउँदैन।"

‘अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह कम गर’

रेमिट्यान्स आप्रवाह घट्योःराष्ट्र ब्याङ्क

ऋणात्मक

देशको अर्थतन्त्र धान्दै आएको रेमिट्यान्स आप्रवाह घटेर ऋणात्मक हुँदै गएको छ।

व्यापार घाटा पनि बढ्दै गइरहेकाले शोधनान्तर घाटामा वृद्धि भएको जानकारहरु बताउँछन्।

तस्वीर कपीराइट Reuters

गत वर्षको तुलनामा यस वर्ष आयात १२.८ प्रतिशतले बढेको छ।

तर सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदो छ।

प्रवृत्ति

उनीहरू यो प्रवृत्ति कायमै रहे त्यसले अर्थतन्त्रमा गम्भीर समस्या निम्त्याउने बताउँछन्।

अर्थविद् पोषराज पाण्डेले भने, "व्यापार घाटा निरन्तर बढिरहेको छ र अब रेमिट्यान्स बढ्ने छैन र भूकम्पछिको पुर्ननिर्माण र अन्य धेरै निर्माणका कार्य गर्नुपर्ने छ। यसकारण अहिलेदेखि नै चाहिने किसिमको नीति ल्याउनेतर्फ नलाग्ने हो भने पछि समस्या सिर्जना गर्छ।"

शोधनान्तर बचतमा लैजानका लागि सरकारले स्वदेशी उत्पादन बढाउन सकिने खालका नीति ल्याउनुपर्ने अर्थविद्हरूको सुझाव छ।

सर्वसाधरणले पनि गाडी, गहना, मोबाइल जस्ता विलासी सामानको उपभोग कम गर्न सके सहयोग मिल्ने उनीहरू बताउँछन्।

सम्बन्धित सामग्री