शीतकालीन ओलिम्पिक्स्: उत्तर कोरियाका २२ खेलाडी सहभागी हुने

  • 20 जनवरी 2018
तस्वीर कपीराइट Getty Images

अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी आईओसीले दक्षिण कोरियामा अर्को महिना हुने शीतकालीन ओलिम्पिक्समा २२ जना उत्तर कोरियाली खेलाडीले भाग लिने घोषणा गरेको छ।

आईओसी प्रमुखका अनुसार दुवै कोरियाका खेलाडीहरूले ओलम्पिक रंगशालामा एउटै झण्डा लिएर मार्च गर्नेछन्।

महिला आइस हकी खेलमा दुवै देशको एउटै टोली बनेको आइओसीले जनाएको छ।

आइओसीका प्रमुख टमस बाखका अनुसार प्योङचाङमा हुने शीतकालीन ओलिम्पिक्समा उत्तर कोरियाली खेलाडीहरूले तीन खेलमा भाग लिनेछन्।

महिला आइस हकी खेलमा दुवै कोरियाका खेलाडी सहभागी हुनुलाई अभूतपूर्व मानिएको छ। त्यो संयुक्त टोलीमा उत्तर कोरियाका १२ महिला खेलाडी र एक खेल अधिकारी सहभागी हुनेछन्।

दक्षिण कोरियाका २३ खेलाडी त्यो टोलीमा हुनेछन्।

सहमति

दुई उत्तर कोरियाली खेलाडीहरु फिगर स्केटिङ खेलमा जोडीका रूपमा सहभागी हुँदैछन्।

स्केटिङका अतिरिक्त स्किइङ्गमा पनि उत्तर कोरियाली टोली सहभागी हुन सक्ने अपेक्षा गरिएको छ।

स्विटजरल्याण्डको लुजानमा शनिवार भएको एक बैठकमा पछिल्लो सहमति भएको हो।

दुई कोरियाली ओलिम्पिक कमिटिहरूका प्रतिनिधि सहभागीको बैठकपछि बोल्दै आइओसीका अध्यक्ष टमस बाखले दुवै कोरियाका खेलाडीहरुले कोरियाली एकीकरणको झण्डा बोकेर ओलम्पिक रंगशाला प्रवेश गर्ने कार्यक्रम बनेको बताए।

उनले भने, "यो संयुक्त टोली कोरियाली एकीकरणको झण्डा बोकेर ओलम्पकि रंगशाला प्रवेश गर्नेछ। सारा कोरियालीहरु तथा सिंगो विश्वका लागि नै त्यो भावुक क्षण हुनेछ।"

ओलिम्पिकको मर्म नै "सम्मान, संवाद र समझदारी" भएको बताउँदै बाखले प्योङचाङले कोरियाली प्रायद्वीपको उज्वल भविष्यको ढोका खोल्ने आशा व्यक्त गरे।

यसैबीच उत्तर कोरियाको एक टोली ओलिम्पिक खेलका बेला सांस्कृतिक कार्यक्रम गर्ने स्थानहरूको निरीक्षण गर्न आइतवार दक्षिण कोरिया पुग्न लागेको दक्षिण कोरियाको एकीकरण मामिलासम्बन्धी मन्त्रालयले जनाएको छ।

त्यसनिम्ति प्योङयाङले सात सदस्यीय प्रतिनिधमण्डल पठाउन लागेको बताइएको छ।

सोलले जनाएअनुसार उत्तर कोरियाली टोली जमिनको बाटो हुँदै दक्षिण कोरिया पुग्नेछ।