कारबाहीमा संयम अपनाउन टर्कीलाई आग्रह

  • 22 जनवरी 2018
टर्की तस्वीर कपीराइट AFP

टर्कीले सिरियास्थित एउटा कुर्दिश लडाकु समूहविरूद्ध स्थल कारबाही थालेपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई 'संयमित' हुन आग्रह गरेको छ।

इस्लामिक स्टेटविरुद्धको लडाइँमा उक्त समूह पश्चिमा मुलुकहरूको एउटा महत्त्वपूर्ण साझेदार रहिआएको छ।

संयुक्त राज्य अमेरिकाले कारबाहीका क्रममा सर्वसाधारणको हताहती हुन नदिन र वाइपीजी समूहविरूद्धको कारबाही सीमित समय र क्षेत्रभित्र रहेको सुनिश्चित गर्न आग्रह गरेको छ।

फ्रान्सले अविलम्ब संघर्षविराम गर्न र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‍मा सोमवार त्यसबारे आकस्मिक छलफल गर्न माग गरेको छ।

टर्कीद्वारा उत्तरी सिरियामा हवाई हमला

प्रतिकार

वाइपीजीले टर्कीबाट गरिएको आक्रमणको प्रतिकार गरिरहेको जनाएको छ।

तर हवाई हमलाबाट धेरै सर्वसाधारण मारिएका छन्।

तस्वीर कपीराइट AFP

टर्कीको कुर्दिश विद्रोहीसँग सम्बन्ध भएकोले अंकाराले वाइपीजीलाई एउटा आतंकवादी समूहको रूपमा हेर्दै आएको छ।

कुर्दिश लडाकुलाई धपाउने एउटा महत्त्वपूर्ण कारबाहीका क्रममा टर्कीका सैनिकहरू उत्तरी सिरियामा प्रवेश गरेका छन्।

सक्रिय

वाइपीजी भनेर चिनिने कुर्दिश लडाकु समूह टर्कीको सीमासँग जोडिएको सिरियाको आफ्रिन क्षेत्रमा सक्रिय रहिआएको छ।

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले वाइपीजीलाई "धेरै छिटो" परास्त गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

टर्कीको सरकारले कैयौँ महिनादेखि आफ्रिन र त्यहाँदेखि करिब १०० किलोमिटर टाढा पर्ने अर्को शहर मान्बिजबाट कुर्दिश लडाकुलाई धपाउने चेतावनी दिँदै आएको छ।

शनिवार शुरू 'ओलिभ ब्रान्च' नाम दिइएको सैन्य कारबाहीको उद्देश्य कुर्दिश लडाकुलाई आफ्रिनबाट धपाउनु रहेको छ।