अमेरिकी संघीय निकायहरु बन्दले पार्‍यो प्रभाव

  • 22 जनवरी 2018
अमेरिका तस्वीर कपीराइट Getty Images

सिनेटले सरकारी सेवाको बजेटसम्बन्धी कानूनमाथि मतदान स्थगित गरेपछि अमेरिकी सरकारका लाखौं संघीय कर्मचारीहरुले साताको अनिश्चयपूर्ण शुरुवात गरेका छन्।

संघीय निकायहरु बन्दको अन्त्य गर्न अब सोमबारको मध्यसम्ममा मतदान हुने अपेक्षा गरिएको छ।

संघीय निकाय बन्द भएको सोमबार तेस्रो दिन हो।

रिपब्लिकन र डेमोक्र्याट्सहरु आईतबार गतिरोध अन्त्य गर्न विफल भएका छन्।

रिपब्लिकनहरुले छोटो अवधिको लागि समस्या समाधान गर्ने गरी बजेट पास गर्न र त्यसलगत्तै डेमोक्र्याटहरुले रुचाएको आप्रवासी समस्यासम्बन्धी विषयमा ध्यान दिने प्रतिवद्धता गरेका छन्।

तर डेमोक्र्याट्सका एक जना उच्च अधिकारीले उक्त प्रस्ताव अस्वीकार गरेका छन्।

प्रभाव

बन्दले कतिपय संघीय सेवाहरु प्रभावित भइसकेका छन्।

कतिपय कर्मचारीले विवाद समाधान नभएसम्म पैसा पाउने छैनन्।

अत्यावश्यक सेवाहरु अझै चलिरहे पनि स्टाच्यु अफ लिवर्टीको जस्ता लोकप्रिय स्थलहरु प्रभावित भइसकेका छन्।

उक्त स्मारकस्थल आईतबारदेखि बन्द भएको छ।

तर न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयु कुओमोले दैनिक कर्मचारीलाई बील तिर्नको लागि राज्यले बेहोर्ने कोषको पैसा प्रयोग गर्ने र लोकप्रिय पर्यटकीय स्थलहरु पुनःखोलिने बताएका छन्।