'सीमा क्षेत्रका जग्गाधनीलाई नोक्सानी हुँदैन'

  • 24 जनवरी 2018

नेपाल-भारत सिमानामा सीमा स्तम्भहरू निर्माण गर्ने क्रममा नेपालीले भोगचलन गर्दै आएको जग्गा भारतपट्टी पर्न गएमा सम्बन्धित जग्गाधनीलाई "हानि नोक्सानी नहुने गरी" क्षतिपूर्तिको व्यवस्था गरिने सरकारी अधिकारीहरूले बताएका छन्।

दुई साताअघि पर्साको सिर्सिया नदी क्षेत्रमा नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गामा सीमा स्तम्भ निर्माण गर्ने काम थालिएपछि स्थानीयबासीले आफ्नो जग्गा गुम्न सक्ने भन्दै आक्रोश तथा चिन्ता व्यक्त गरेका थिए।

नेपाल भारत सिमानामा सीमा स्तम्भ निर्माण गर्ने क्रममा थुप्रै स्थानमा यस्तैखाले समस्या उत्पन्न हुन सक्ने अधिकारीहरू बताउँछन्।

नेपाल-भारत सीमा क्षेत्रमा पर्ने पर्साको छपकैंयामा जस्तै नदीलाई सिमाना मानिएका ५७ स्थानमा सीमा स्तम्भहरू यता-उता पर्न सक्ने नापी विभागका अधिकारीहरूले बताएका छन्।

'सट्टाभर्ना'

तर त्यसो भएपनि जग्गा धनीहरूलाई उचित सट्टाभर्ना वा क्षतिपूर्तिको व्यवस्था गरिने नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बीबीसीलाई बताए।

उनले भने, "विभिन्न प्रारूप हुन सक्छन्। सट्टाभर्ना पनि हुन सक्छ। दुवैतिरको भूमि यता-उता परेको हुन सक्छ। सबै सूचना संकलन भइसकेपछि मात्रै जग्गाधनीलाई कुनै हानि नोक्सानी नहुने गरी उचित व्यवस्था हुन्छ।"

साथै पर्साको सिर्सिया नदी क्षेत्रमा सीमा स्तम्भ निर्माणपछि स्थानीय जग्गाधनीहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि जग्गा भोगचलन गर्न कुनै बाधा नपर्ने गरी कूटनीतिक स्तरबाट भारतलाई जानकारी गराइसकिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

झण्डै २० वर्षअघि नेपाल र भारतका अधिकारीहरूले दुई देशबीचको सीमा विवाद हल गर्न सन् १८१६ को सुगौली सन्धिअनुसारै स्थिर सीमा सिद्धान्त अनुसार सीमा रेखा छुट्याउन सहमति गरेका थिए।

त्यसरी करिब डेढ सय वर्ष पुरानो नक्साका आधारमा सीमा स्तम्भ निर्माण गर्ने क्रममा अहिले आएर खासगरी नदीनाला बग्ने क्षेत्रमा भूमि यताउता पर्ने समस्या देखिएको नापी विभागको भनाइ छ।

विगत ४०-५० वर्षयता आएर मात्र नेपालमा जग्गाको नापनक्सा तयार गरी जग्गाधनी प्रमाण पूर्जा वितरण गर्न थालिएको हो। त्यसैले सीमा क्षेत्रका नदीले धार परिवर्तन गर्ने विभिन्न स्थानमा जग्गा यता-उता परेको हुन सक्ने अधिकारीहरू बताउँछन्।

नदी सिमाना

Image caption नापी विभागका अनुसार दुई देशबीचको सिमानामा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भ रहनु पर्दछ।

नापी विभागका अनुसार नेपाल भारत सिमानाको लम्बाइ १८ सय ८० किलोमिटर रहेको छ। त्यस मध्ये करिब ६४० किलोमिटर नदी सिमाना रहेको बताइन्छ।

नदीले धार परिवर्तन गरिरहने हुनाले पर्साको सिर्सियामा जस्तै सीमा क्षेत्रका नदी बग्ने विभिन्न स्थानहरूमा भूमि यता-उता भएको हुनसक्ने अधिकारीहरू बताउँछन्।

त्यसबारे सही सूचना हाल जारी सीमा स्तम्भ निर्माणको काम सकिएपछि प्राप्त हुने नापी विभागका अधिकारीहरू बताउँछन्।

सो विभागका अनुसार नेपाल र भारतका अधिकारीहरूले तयार पारेको एक नक्सा अनुसार दुई देशबीचको सिमानामा ८ हजार ५ सय ५३ वटा सीमा स्तम्भ रहनु पर्दछ। तर अहिलेसम्म करिब ६ हजार जति स्तम्भ मात्रै निर्माण हुन सकेका छन्।

सीमा स्तम्भहरू निर्माण गर्ने काम तीन वर्ष भित्र सकिने सरकारी अपेक्षा छ।

अधिकारीहरूका अनुसार महाकालीको कालापानी र नवलपरासीको सुस्ता बाहेक अन्य स्थानका सीमा विवादको समाधान दुई देशका प्राविधिकहरूले निकाली सकेका छन्।

सम्बन्धित सामग्री