वायु प्रदूषणको स्तर सुधार्न आह्वान

  • 25 जनवरी 2018
वायु प्रदूषण

हालै एक अन्तर्राष्ट्रिय प्रतिवेदनले नेपालमा वातावरण प्रदूषणको स्थिति नाजुक रहेको देखाएको भन्दै वातावरणविद्हरुले त्यसको निराकरणका लागि तत्काल कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

विश्व आर्थिक मञ्चको सहकार्यमा प्रतिष्ठित अमेरिकी विश्वविद्यालयहरु यल तथा कोलम्बियाद्वारा तयार पारिएको 'इन्भाइरोमेन्ट पर्फर्मेन्स इन्डेक्स' (इपीआइ)को यसपालिको प्रतिवेदन स्वीट्जरल्याण्डको डाभोसमा यही साता सार्वजनिक गरिएको थियो।

त्यसमा विश्वभरका १८० देशहरुमाझ तुलना गर्दा वातावरण प्रदूषण धेरै हुने देशहरुमध्ये नेपाल लगभग पुछारमा १७६ औं नम्बरमा रहेको देखाइएको छ।

वायु गुणस्तरको मात्रा तुलना गर्दा त नेपाल अन्तिम १८० ‍औं स्थानमा रहेको बताइएको छ।

त्यसको दुईवटा मुख्य कारण रहेको ठान्छन् वातावरणविद् भूषण तुलाधर - शहरी क्षेत्रमा धुलोधुवाँ अनि ग्रामीण क्षेत्रमा घरभित्र दाउरा तथा गुइँठो बाल्ने प्रवृत्ति।

"शहरमा हामीले धुलोधुवाँको परिमाण देखेकै छौं। त्योभन्दा पनि धेरै गम्भीर स्थिति अन्यत्र छ। अझै यहाँ करीब ७५ प्रतिशत घरहरुमा दाउरा वा गुइँठो बाल्ने चलन छ। त्यसले एकदमै खराब प्रदूषण गराउँछ," उनले भने।

अर्का वातावरणविद् तोरण शर्मा भन्छन्, - "अन्तर्राष्ट्रिय मञ्चमा कुन सूचकलाई कसरी प्रयोग गरिएको छ भन्ने कुरा आफ्नो ठाउँमा छ। तर साँचो कुरा के हो भने काठमाण्डू उपत्यकाको वायुको स्तर एकदमै खस्किएको छ। साथसाथै हिमाली क्षेत्रमा पनि अचेल तुवाँलो देखिन्छ। पहिले जस्तो प्रस्ट हिमाल देखिंदैनन्।"

खाँचो

उनीहरुले प्रदूषणको मुद्दालाई सरकारले गम्भीरताका साथ लिनु पर्ने बताएका छन्।

तुलाधरले भने, "सरकारले रणनीति बनाएर युद्धस्तरमा अघि बढ्नुपर्छ। त्यो पनि शहरी क्षेत्रको विकास संगै आइलाग्ने प्रदूषणका विषय तथा घरभित्रका प्रदूषणका विषयलाई उत्तिकै महत्वका साथ रणनीति बनाएर काम गर्नुपर्छ। अहिलेको जस्तो अलिअलि गरेर पुग्दैन।"

उक्त प्रतिवेदनमा उल्लेख विषयलाई गम्भीर रुपमा लिएको वातावरण विभागले जनाएको छ।

तर स्थिति गम्भीर भएपनि आत्तिनु पर्ने किसिमको नरहेको विभागका अधिकारीले बताएका छन्।

Image caption काठमाण्डूको सात ठाउँमा वायु प्रदूषण गुणस्तर नाप्ने उपकरण राखिएको वातावरण विभागले जनाएको छ।

विभागकी उपमहानिर्देशक एवं प्रवक्ता सफला श्रेष्ठ भन्छिन्, विशेषगरी शहरी क्षेत्रमा जाडोयाममा बिहान बेलुकी प्रदूषणको मात्रा निकै बढे पनि औसतमा ठीकै छ।

उनले भनिन्, "आत्तिनुपर्ने स्थिति छैन। दिउँसोतिर त स्थिति ठीकै हुन्छ। यो सडक विस्तारको कामहरु रोकियो भने अवस्था सुध्रिन्छ। अहिले हामीले ध्यान पुर्‍याउनु पर्ने भनेको गाडीले गर्ने प्रदूषण हो"।

उनका अनुसार हाल काठमाण्डूमा सात ठाउँसहित देशभर १२ वटा स्थानमा वायु प्रदूषण मापन गर्न थालिएको छ।

शहरी क्षेत्रमा वायु प्रदूषणको करिब ३८ प्रतिशतका लागि गाडीकै धुवाँ जिम्मेवार रहेको उनले बताइन्।

'विदेशको प्रदूषण'

तर कतिपय वातावरणविद्हरु भने समस्या देशभित्र मात्र नभई देश बाहिर पनि रहेको बताउँछन्।

सीमा छेउछाउ रहेका कोइलामा आधारित भारतीय उद्योगधन्दाले गर्ने प्रदूषण हावासँगै बहेर नेपालतर्फ आउने र तिनले निकै हानि पुर्‍याउने वातावरणविद् तोरण शर्मा बताउँछन्।

उनले भने, "यसमा नेपालीहरुको मात्र योगदान भन्दा पनि भारतका उत्तर प्रदेश, बिहार, राजस्थान वा दिल्लीमा भएका प्रदूषण बहेर यता आउँदा यहाँ निकै ठूलो वातावरणीय समस्या परिरहेका छन्।"

उक्त प्रतिवेदनमा नेपालभन्दा पनि खराब अवस्थामा दक्षिण एसियाकै छिमेकी मुलुकहरु भारत र बांग्लादेश रहेको उल्लेख छ।