'देउवा सरकारका निर्णय भावी सरकारलाई अमान्य'

  • 25 जनवरी 2018
पत्रकार सम्मेलन
Image caption अध्यक्ष ओलीले वर्तमान सरकारले, उनकै शब्दमा, अनैतिक ढङ्गले दूरगामी महत्त्वका निर्णय गरेको बताउँदै त्यसबारे भावी सरकारले पुनर्विचार गर्ने बताए

आगामी सरकारको नेतृत्व गर्ने पर्खाइमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणायता वर्तमान सरकारले गरेका कतिपय निर्णय असंवैधानिक र राष्ट्रहीत विपरीत भएको जनाउँदै भावी सरकारलाई उक्त निर्णयहरु अमान्य हुने चेतावनी दिएका छन्।

उनले 'वर्तमान सरकारले अनेक जालझेल गरेर अनैतिक ढङ्गले दूरगामी महत्त्वका निर्णय गरेको' बताउँदै त्यसबारे भावी सरकारले पुनर्विचार गर्ने धारणा व्यक्त गरे।

सरकारले सामाजिक सुरक्षा र भूकम्पपीडितको राहतसम्बन्धी निर्णय गरेको भोलिपल्टै पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले त्यसलाई 'देश कंगाल बनाउने कदम' भनी टिप्पणी गरे।

वृद्ध भत्ता पाउने उमेर ७० बाट ६५ वर्षमा झार्ने तथा भूकम्प र बाढीपीडितलाई घर निर्माणका लागि राहत स्वरुप १ लाख रुपैयाँ थप गर्ने सरकारको निर्णयले चर्को आलोचना खेपिरहेका बेला ओली त्यसविरुद्ध कडा रुपमा प्रस्तुत भएका हुन्।

चुनौती

पछिल्ला दिनमा पार्टी एकता प्रयास र पार्टीको आन्तरिक बैठक घरमै गर्ने गरेका उनले बिहीवार भने पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर सरकारको उक्त कदमलाई चुनौती दिए।

कतिपय दूरगामी महत्त्वका निर्णयहरु गरेर पनि सरकारले सार्वजनिक नगरेको आशंका पनि उनको छ।

सरकारका पछिल्ला निर्णयलाई गैरकानूनी र देशको हित विपरीत रहेको दावी गर्दै अध्यक्ष ओलीले भने, "नयाँ सरकारले यसबीचमा भएका सबै निर्णयहरुमाथि पुनर्विचार गर्नेछ। संविधान, कानून र राष्ट्रका हित विपरीत भएका सबै निर्णयहरुलाई अस्वीकार गर्ने कुरा समेत स्पष्ट पार्न चाहन्छौं।"

अघिल्लो वर्षमा राज्यको सञ्चित कोषमा ४८ अर्ब रुपैयाँ घाटा रहेकोमा सरकारले करिब १०३ अर्ब रहेको भनेर झुट बोलेको एमालेले जनाएको छ।

जालझेल

Image caption पार्टीका अधिकांश पदाधिकारीहरु समेत उपस्थित पत्रकार सम्मेलनमा ओली वर्तमान सरकारविरुद्ध क्रुद्ध देखिएका थिए

त्यसका अतिरिक्त तीन तहका निर्वाचन सम्पन्न गर्दा सञ्चित कोषमा ठूलो दबाब रहेकोमा सरकारले वार्षिक नीति र कार्यक्रममा नभएका तथा बजेटमा नसमेटिएका कार्यक्रम ल्याएर राज्यलाई खर्बौं रुपैयाको दायित्व बढाएको एमाले अध्यक्ष ओलीको आरोप छ।

कामचलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको भन्दै वर्तमान सरकारलाई त्यसो गर्ने अधिकार नभएको बताउँदै उनले भने, "सरकारमा रहिरहन जालझेल, षड्यन्त्र, तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कंगाल बनाउने, आर्थिक संकटमा फँसाउने, प्रतिकूलता बढाउने र संचित रकम ध्वस्त पारिदिने लगायतका क्रियाकलाप गर्न मिल्दैन।"

पार्टीका अधिकांश पदाधिकारीहरु समेत उपस्थित पत्रकार सम्मेलनमा सरकारविरुद्ध क्रुद्ध देखिएका उनले निर्वाचन आयोगप्रतिको आफ्नो चर्को असन्तुष्टि पनि लुकाएनन्।

भावी प्रधानमन्त्रीको रुपमा हेरिएका ओलीले नयाँ सरकार गठनमा सक्दो ढिलाइ गर्ने वर्तमान सरकारको उद्देश्य रहेको र त्यसमा आयोगले बल पु-याएको आरोप समेत लगाएका थिए।