ट्रम्पद्वारा 'भक्षक शैली'को व्यापारको आलोचना

  • 26 जनवरी 2018
ट्रम्प तस्वीर कपीराइट AFP

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व आर्थिक मञ्चमा बोल्दै "भक्षक शैली"मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गरेका छन्।

स्विटजरल्याण्डको डाभोस शहरमा जारी विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरूसमक्ष बोल्दै ट्रम्पले अनुचित व्यापार नसहने चेतावनी दिए।

उनले व्यापारको मामिलामा पनि 'अमेरिका पहिलो' नीति अवलम्बन गरिने बताए।

ट्रम्पले अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै अब त्यसप्रति अमेरिका चुप लागेर नबस्ने बताए।

'अमेरिका पहिलो'

उनले व्यापारमा 'अमेरिका पहिलो' भन्ने नीति लिइने तर त्यसको मतलब अमेरिका एक्लै मात्र पहिलो नहुने बताए।

उनले अन्य देशका नेताहरूले पनि आ-आफ्नो देशलाई पहिला राख्नु पर्नेमा जोड दिए।

उनले भने, "'अमेरिका पहिलो' भन्नुको मतलब अमेरिका एक्लै होइन। जब अमेरिका अघि बढ्छ विश्व पनि अघि बढ्छ।"

डाभोसमा बोल्दै ट्रम्पले विश्वका आर्थिक नेताहरूलाई भने, "अमेरिका व्यापारका लागि खुल्ला छ र त्यो अवसरको सबैले फाइदा लिनु पर्दछ।"

विश्वव्यापीकरण

तर डाभोस पुगेका बीबीसीका संवाददाताहरू भन्छन्, ट्रम्पले जोड दिएको 'अमेरिका पहिला' भन्ने नीति विश्व आर्थिक मञ्चको सारा विश्व समेट्ने विश्वव्यापीकरण र सहकार्यको भावनासँग मेल खादैन।

ट्रम्पले चाहिँ आफ्नो कार्यकालको पहिलो वर्ष निकै उपलब्धिमूलक रहेको भन्दै आफ्नो प्रशंसा गरे।

उनले पहिलो वर्षमा आफूले कर कटौती गरेको, बेरोजगारी दर घटाएको र आफ्नो देशलाई लगानीमैत्री बनाएको दावी पनि गरे।