एकता रोक्ने र गठबन्धन तोड्ने कसरत: प्रचण्ड

  • 27 जनवरी 2018
ओली-प्रचण्ड तस्वीर कपीराइट .

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकीकरण हुन नदिन र वाम गठबन्धन भत्काउने ठूलै कसरत भइरहेको बताएका छन्।

त्यसको निम्ति कहिल्यै एमाले र कहिले आफ्नो दललाई उक्साउने काम भइरहेको उनको भनाइ छ।

चितवनमा पत्रकारहरुसँग कुरा गर्दा विशेषरुपमा आफू सरकार गठनअघि नै पार्टी एकता गर्न प्रयासरत रहेको बताएका प्रचण्डले त्यसपछि शिक्षकहरुको एउटा कार्यक्रमा त्यो प्रयासमा तमाम व्यवधान देखिएको अनुभव सुनाएका हुन्।

अस्वीकार

उनले भने, "कसलाई के भनेर उक्साउँदा पार्टी एकता रोक्न सकिन्छ, कसलाई के भनेर उचाल्दा वामपन्थी गठबन्धन तोड्न सकिन्छ भनेर कसरत ठूलै स्तरमा चल्न थालेको छ।"

पाँच वर्षको निम्ति प्रधानमन्त्री बन्न प्रस्ताव आएको र आफूले अस्वीकार गरेको बताएर प्रचण्डले त्यस्तो प्रयास नेपाली कांग्रेस र वर्तमान सरकारबाट भएको संकेत दिए।

तर 'यताबाट वा उताबाट त्यस्तो भइरहेको' उनको भनाइ कांग्रेस वा सरकारतर्फ मात्र लक्षित थियो भन्ने उनले प्रष्ट पारेनन्।

उनले एकता प्रयासका क्रममा शक्ति बाँडफाँटको चित्तबुझ्दो प्रस्ताव एमालेबाट नआएको छनक दिँदै भने, "कहिले एमालेलाई माओवादीलाई किन त्यति महत्त्व दिनु पर्‍यो भन्ने र माओवादीलाई आफ्नो भूमिका किन छाड्ने भनेर राष्ट्रको स्थायीत्व र समृद्धिको यात्रा अवरुद्ध गर्ने कसरत हुन्छ।"

चेतावनी

एक-दुई दिनमै निर्णायक छलफल गर्ने बताएका प्रचण्डले 'परिस्थितिमा हेरफेर आउँदा तुरुन्तै अर्को कदम उठाउने' आफ्नो स्वाभावबारे पनि चर्चा गरे।

त्यसकै आधारमा एकथरिले गतिशील र अर्काथरिले अस्थिर नेताको रुपमा आफूलाई अर्थ्याउने गरेको बुझाई पनि उनले सुनाए।

कतिपयले त्यसो भनेर प्रचण्डको एमालेलाई चेतावनी दिएको अर्थ लगाएका छन्।

तर उनले एउटा उद्देश्यमा अघि बढेपछि आफूले दायाँ-बायाँ नगरेको र नगर्ने प्रतिबद्धता सुनाउन छुटाएनन्।