ह्यारीको विवाहको निम्तो ट्रम्पले पाए?

  • 28 जनवरी 2018
राजकुमार तस्वीर कपीराइट EPA

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्तो आएको जानकारी नभएको बताएका छन्।

मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्तो पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन्।

अमेरिकी अभिनेत्री मार्कल सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन्।

उनले ट्रम्प महिला विरोधी र विभाजक भएको बताएकी थिइन्।

'मायालु जोडी'

आइटिभीका लागि पिएर्स मोर्गनसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले राजकुमार ह्यारी र मार्कल 'मायालु जोडी' जस्तो देखिएको बताए।

विवाहमा उनी उपस्थित हुन चाहन्छन् कि चाहँदैनन् भन्ने प्रश्नमा ट्रम्पले भनेका थिए, "म उनीहरू खुशी होउन् भन्ने चाहन्छु, म साँच्चै उनीहरू खुशी होउन् भन्न चाहन्छु। उनीहरू मायालु जोडी जस्तो देखिन्छन्।"

राजकुमार ह्यारी र मार्कलले विन्डजर क्यासलमा विवाह गर्नेछन्।

प्रस्ताव

स्वीटजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन गएका बेला मोर्गनले ट्रम्पसँग अन्तर्वार्ता लिएका थिए।

डाभोसमै ट्रम्पले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग पनि बैठक गरेका थिए।

मोर्गनले सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले आफूलाई यो वर्ष ब्रिटेनको दुईपटक भ्रमण गर्न प्रधानमन्त्री मे ले प्रस्ताव गरेको बताएको उल्लेख गरेका छन्।