आइपीएलमा पहिलोपटक नेपाली खेलाडी

  • 28 जनवरी 2018
सन्दिप लामिछाने

विश्व क्रिकेटमा ठूलो व्यवसायिक प्रतियोगिता मानिने इन्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दिप लामिछाने छानिएका छन्।

निकै ठूलो लगानी रहेको र विश्व क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेर्ने भनिएको सो प्रतियोगितामा नेपाली खेलाडी पहिलो पटक छानिएका हुन्।

प्रतियोगिताको ११ औं संस्करणको आइतवार भारतको बैंग्लोरमा भएको खेलाडी लिलामीमा लामिछानेका लागि राखिएको न्यूनतम मूल्य २० लाख भारुमा दिल्ली डेयरडेभिल्स क्लबले उनलाई लिएको हो।

स्वागत

लामिछानेलाई टोलीमा समावेश गर्न पाएकोमा खुशी व्यक्त गर्दै दिल्ली डेयरडेभिल्सले ट्वीटमा भनेको छ - "पहिलो नेपाली खेलाडीको रुपमा इतिहास रचेका १७ वर्षिय युवा लेग स्पिनरलाई क्लबमा स्वागत गर्न पाउँदा हामीलाई खुशी लागेको छ।"

नवलपरासीको रजहर घर भएका लामिछाने नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायकले प्रतिभाशाली खेलाडी खोजी 'ट्यालेन्ट हन्ट'बाट रोजेका खेलाडी हुन्।

लेग स्पिनर लामिछानेको 'लेगब्रेक गुगली' शैली उनको विशेषता मानिन्छ ।

भिन्न-भिन्न तरिकाले बल फाल्न सक्ने उनको क्षमताका कारण सानै उमेरमा उनले नेपाली राष्ट्रिय टोलीमा स्थान बनाएका थिए।

चर्चा

उनी नेपाली राष्ट्रिय टोलीको पछिल्लो पुस्ताका चर्चित खेलाडी हुन्।

उनको खेल्ने तरिकालाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ।

सन् २०१६ मा नामिबियाको खेलबाट राष्ट्रिय टोलीमा खेल्न थालेका सन्दिपले १९ वर्ष भन्दा कम उमेर समूहको विश्वकपमा आयरल्याण्डविरुद्ध 'ह्याट्रिक' विकेट लिएर चर्चा कमाएका थिए।

२०१६ मै सन्दिपले हङ्कङ्मा भएको टी २० ब्लिट्ज क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाका माइकल क्लार्कको टोलीबाट खेलेर प्रभावकारी खेल देखाएपछि उनलाई क्लार्कले अष्ट्रेलियामा माइकल क्लार्क क्रिकेट एकेडेमीमा लगेर खेलाएका थिए।

त्यहाँ उनले त्यहाँको 'ग्रेड ए' प्रतियोगिता समेत खेलेका थिए।

भारतको आठवटा शहरले खेल्ने आइपीएल आगामी एप्रिल ७ बाट शुरु भई मे २७ मा समापन हुनेछ।

सम्बन्धित सामग्री