‘मुख्यमन्त्रीका प्रतिस्पर्धीको टुंगो गोप्य मतदानबाट’

  • 30 जनवरी 2018
बैठक तस्वीर कपीराइट Oli secretariat
Image caption एमालेले भावी मुख्यमन्त्री चयन गर्ने जिम्मा सम्बन्धित प्रेदशको संसदीय दललाई दिएको छ

नेकपा एमालेले आफ्नो भागमा परेका प्रदेशका मुख्यमन्त्रीका प्रत्याशीबीच सहमति नभए गोप्य मतदानबाट टुंगो लगाउने निर्णय गरेको छ।

संघीय समाजवादी फोरम नेपालले पनि प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्रीको चयन आफ्नो संसदीय दलबाट गर्ने जनाएको छ।

नेकपा माओवादी केन्द्रले एमालेसँगको साझेदारीमा आफ्नो भागमा परेका दुईवटा प्रदेशमा मुख्यमन्त्रीबारे पार्टी केन्द्रीय कार्यालयले निर्णय गर्ने बताइएको छ।

प्रदेश नम्बर ५ मा सर्वसम्मतिमा संसदीय दलको नेता चयन गरिसेकको एमालेको मंगलबार भएको स्थायी कमिटी बैठकले बाँकी तीनवटा प्रदेशका प्रत्याशीको चयन राष्ट्रिय सभाको चुनावपछि गर्ने निर्णय गरेको छ।

बैठकको निर्णयमा 'एकभन्दा बढी उम्मेद्वार भएमा गोप्य मतदानबाट त्यसको टुंगो लगाउने' भनिएको छ।

मतदान

एमालेले माओवादी केन्द्रसँगको सहमति अनुसार पाएका चारवटा प्रदेशमध्ये १, ३ र ४ का भावी मुख्यमन्त्रीको टुंगो लगाउन बाँकी छ।

जहाँ एकभन्दा बढी प्रत्याशी देखा परेका छन्।

पार्टी उपमहासचिव विष्णु पौडेलले भने, "विभिन्न साथीहरुले इच्छा व्यक्त गरिरहनु भएको छ। निर्वाचन मितिसम्म पुग्दा प्रदेश नम्बर ५ मा जस्तै सहमतिमै हुनसक्ला, भएन भने मतदानबाट टुंगिन्छ।"

प्रदेश नम्बर २ मा चुनावी गठबन्धन बनाएका संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बहुमत छ।

राजपा अध्यक्ष मण्डलका एकजना सदस्य महेन्द्र राय यादवका अनुसार त्यहाँ सबैभन्दा ठूलो दलको हैसियतमा पूर्वसहमति अनुसार फोरम नेपालबाट मुख्यमन्त्री हुनेछन्।

तस्वीर कपीराइट Oli secretariat
Image caption एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्

फोरम नेपालका कोषाध्यक्ष विजयकुमार यादवका अनुसार आउँदो २० गते डाकिएको प्रदेश संसदीय दलको बैठकबाट भावी मुख्यमन्त्रीको निम्ति नेता चयन हुने सम्भावना छ।

उनले भने, "लोकतान्त्रिक विधिबाट सहमतिमा छान्ने हो, सहमति नभएमा चुनाव हुनसक्छ।"

दाबेदार

कोषाध्यक्ष यादव स्वयं मुख्यमन्त्रीका एकजना दाबेदार हुन्।

त्यसप्रदेशको जातीय सन्तुलन र पार्टी नेतृत्वको रुचिबारे जानकारहरुले उनी नै मुख्यमन्त्री बन्ने बढी सम्भावना रहेको औंल्याएका छन्।

Image caption प्रदेश नम्बर २ मा फोरम नेपालको नेतृत्वमा सरकार गठन हुने बताइएको छ

पश्चिम नेपालका दुईवटा प्रदेशका मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको छ।

प्रदेशबाट आएका सिफारिसका आधारमा पार्टी केन्द्रीय कार्यालयले त्यसबारे निर्णय गर्ने उक्त दलले जनाएको छ।

सातवटा प्रदेशमध्ये छ वटामा वामपन्थी गठबन्धन र एउटामा तराई-केन्द्रित दलको नेतृत्वमा सरकार गठन हुनेछन्।

अहिले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस कुनै पनि प्रदेशमा सरकार बनाउने अवस्थामा छैन।