भारतीय विदेशमन्त्री स्वराज काठमाण्डू आउँदै

  • 1 फेब्रुअरी 2018
सुष्मा तस्वीर कपीराइट Getty Images

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डू आउन लागेकी छन्।

नयाँ सरकार बन्नुभन्दा केहीअघि मात्रै स्वराजले गर्न लागेको नेपाल भ्रमणलाई विदेश मामिलाका कतिपय जानकारले 'अस्वाभाविक' भनेका छन्।

तर उनको भ्रमणले दुई देशबीचको आपसी हितका विषयमा दलका नेतासँग छलफल गर्ने अवसर प्रदान गर्ने काठमाण्डूस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भ्रमणले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने पनि विज्ञप्तिमा उल्लेख छ।

अस्वभाविक

नेपालको परराष्ट्र मन्त्रालयले स्वराजले विशिष्ट व्यक्तित्व र विभिन्न दलका शीर्षस्थ नेतासँग भेट्ने जनाएको छ।

मन्त्रालयका सूचना अधिकृत रामबाबु ढकालले भने, "राष्ट्रपति र प्रधामन्त्रीसँग भेट गर्ने तय भएको छ र अन्य दलका नेतासँग पनि भेट गर्ने उहाँले इच्छा राख्नुभएको छ।"

‘मोदी-ओली कुराकानी: चर्चा चीनको’

तस्वीर कपीराइट BBC/Getty Images

तर वर्तमान सरकार बिदा हुँदै गरेको र नयाँ बन्ने क्रममा रहेका बेला हुन लागेको यो भ्रमणलाई कतिपयले अनौठो पनि मानेका छन्।

चीनसँग सम्बन्ध विस्तार गर्ने प्रयासमा रहेको ठानिएको वाम गठबन्धनको सरकार बन्ने निश्चित भएपछि भारतले देखाएको हतारले धेरै महत्त्व राख्ने नेपाल-भारत सम्बन्धका एक जानकार पत्रकार युवराज घिमिरे बताउँछन्।

लेखाजोखा

उनले भने, "नयाँ सरकार आइनसकेको अवस्थामा हुन लागेको भ्रमण अस्वभाविक हो। खासगरी ओलीको अघिल्लो सरकारको समयमा बिग्रिएको सम्बन्ध सुधार्न, भारतप्रति नेपालमा बढ्दो अविश्वास र त्यही अनुपातमा चीनसँग बढ्दो सम्बन्धलाई पनि ध्यानमा राखेर नयाँ सत्तासँग कसरी अघि बढ्ने भन्ने प्रारम्भिक लेखाजोखाका लागि उनी आउन लागेको जस्तो देखिन्छ।"

भ्रमणका क्रममा स्वराजले प्रधानमन्त्री एवम् थुप्रै नेतालाई भेट गर्ने भनिए पनि धेरैको चासो एमाले अध्यक्ष केपी ओलीसँगको उनको भेटलाई लिएर देखिएको छ।

नयाँ सरकारको नेतृत्व लिने ठानिएका ओलीसँग विगतमा बिग्रिएको भनिएको सम्बन्ध सुधारका लागि यो प्रयास हुन लागेको पनि कतिपयले ठानेका छन्।

दुई दिने भ्रमण सकी शुक्रवार स्वराज स्वदेश फर्कने अधिकारीहरूले बताएका छन्।

सम्बन्धित सामग्री