'अमेरिका नयाँ सरकारसँग काम गर्न इच्छुक'

  • 2 फेब्रुअरी 2018
तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
नेपाल अमेरिकाको कति प्राथमिकतामा?

एक वरिष्ठ अमेरिकी अधिकारी एलिस् जी. वेल्सले ट्रम्प प्रशासन नेपालमा वाम गठबन्धनको नेतृत्वमा बन्ने अपेक्षा गरिएको नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताएकी छन्।

बीबीसी नेपाली सेवासँग लण्डनमा विशेष कुराकानी गर्दै दक्षिण तथा मध्य एसिया मामिला हेर्ने संयुक्त राज्य अमेरिकाकी प्रमुख उपसहायक विदेश मन्त्री एलिस् जी. वेल्सले अमेरिका, उनकै शब्दमा, नेपाली जनताको इच्छालाई प्रतिनिधित्व गर्ने एउटा वैधानिक सरकारसँग काम गर्न इच्छुक रहेको बताइन्।

"हामीले यो चुनावलाई संयुक्त राज्य अमेरिका विरुद्धको जनमत संग्रहको रूपमा हेरेका छैनौँ। सरकार बन्यो भने हामी उसँग काम गर्न इच्छुक छौँ र हाम्रो सम्बन्ध हाम्रा साझा हितहरू तथा हाम्रा जनताका साझा मान्यताहरूको आधारमा अघि बढ्नेछ," उनले भनिन्।

अमेरिकाद्वारा नेपाललाई रु ५१ अर्ब अनुदान

विद्युत् प्रसारण लाइन निर्माण अगाडि बढ्ने

महत्त्व

के नेपाल अमेरिकाको प्राथमिकतामा पर्दछ? भन्ने एक प्रश्नको जवाफमा श्रीमती वेल्सले नेपालसँगको सम्बन्धलाई अमेरिकाले निकै महत्व दिएको बताइन्।

उनले भनिन्, "प्रजातान्त्रिक मार्गमा हिँड्ने सवालमा नेपाल अन्य मुलुकहरूका लागि एक उदाहरण हो र हामी नयाँ बन्ने सरकारसँग काम गर्न इच्छुक छौँ।"

उनले गत वर्ष अमेरिकी सरकारले मिलेनियम् च्यालेन्ज् कर्पोरेशन्‌मार्फत् नेपाललाई दिएको ५० करोड डलर बराबरको सहायता त्यसको उदाहरण भएको बताइन्।

उक्त रकम नेपालमा सडक मर्मत तथा विद्युत् प्रसारण लाइन बनाउने लगायतका काममा खर्च गरिने अधिकारीहरू बताउँछन्।

छलफल

श्रीमती वेल्सले दुई मुलुकका सेनाहरूबीच सहयोग बढाउने उपायबारे पनि छलफल भइरहेको बताइन्।

"हाम्रो प्यासिफिक कमाण्डले नेपालको भूकम्प पछि मानवीय सहायता पुर्‍याउनमा, प्राकृतिक प्रकोपसँग जुध्ने मामिलामा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो। त्यसैले हाम्रा दुई सेनाहरूबीच अरू बढी समन्वय तथा सहयोग बढाउने पनि हाम्रा लागि एउटा प्राथमिकता हो," उनले भनिन्।

हाल अमेरिकामा बसोबास गरिरहेका १४,००० भन्दा बढी नेपालीहरूको 'टेम्पररी प्रोटेक्टेड् स्टाटस् वा 'टीपीएस्' भनिने अनुमति अब केही महिनाभित्रै सकिन लागेको भन्ने प्रश्नमा श्रीमती वेल्सले, उनकै शब्दमा, यसबारे एकदमै निष्पक्ष र तथ्यमा आधारित पुनरावलोकन हुने बताइन्।

उनले भनिन्, "भर्खरै मैले अमेरिकास्थित तपाईँहरूका कुशल राजदूत (डा. अर्जुन कार्की) सँग कुरा गरेँ। उहाँले पनि यो विषय मसँग उठाउनु भएको थियो। यो विषयबारे डिपार्टमेन्ट् अफ होमल्याण्ड् सेक्युरिटीले हेरिरहेको छ।"

'टेम्पररी प्रोटेक्टेड् स्टाटस्'

उनले अगाडि भनिन्, "हामीले कुनै मुलुकले आफ्ना जनतालाई पर्याप्त संरक्षण दिन सकिरहेको छैन भन्ने निधो गर्‍यौँ भने त्यहाँका जनतालाई 'टेम्पररी प्रोटेक्टेड् स्टाटस्' दिन्छौं जसबाट कि उनीहरू अस्थायी रूपमा अमेरिकामा बस्न सकून्। यो एउटा अस्थायी उपाय हो र पुनरावलोकन प्रक्रिया नेपाल आफ्ना नागरिकहरूलाई फिर्ता लिन सक्षम छ कि छैन भन्ने कुरामा केन्द्रित रहने छ।"

यसअघि नेपालमा झण्डै अढाइ वर्षअघि विध्वंशकारी भूकम्प गएपछि तत्कालीन ओबामा प्रशासनले नेपाललगायतका मुलुकका नागरिकहरूलाई 'टेम्पररी प्रोटेक्टेड् स्टाटस्' दिइने घोषणा गरेको थियो।

भ्रमण

सन् २००२ मा तत्कालीन अमेरिकी विदेश मन्त्री कोलिन् पावे‌ल्‌ले नेपालको भ्रमण गरेयता कुनै पनि वरिष्ठ अमेरिकी अधिकारीले नेपालको भ्रमण गरेका छैनन् नि? भन्ने प्रश्नको जवाफमा श्रीमती वेल्सले निकट भविष्यमा त्यस्तो संभावना रहेको संकेत दिइन्।

"यसबारे मैले 'होमवर्क' (गृहकार्य) गरिरहेकी छु," उनले भनिन्।