सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने उद्देश्य: भारत

  • 2 फेब्रुअरी 2018
स्वराज प्रचण्ड तस्वीर कपीराइट MEA

दक्षिणी छिमेकी भारतले नेपालमा अब बन्ने नयाँ सरकारसँग दुई पक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने गरी आफूले काम गर्न चाहेको बताएको छ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको 'आकस्मिक' भनिएको नेपाल भ्रमणमा दिल्लीको त्यस्तो सन्देश नेपाली नेताहरुलाई दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

शुक्रवार स्वराजसँग भेटवार्ता गरेका नेपाली नेताहरुले भने नेपालले नयाँ संविधान अनुसार तीनै तहको चुनाव गराएकोप्रति भारतीय पक्षले खुसी प्रकट गरेको बताएका छन्।

'प्रतिबद्धता पूरा गर्न भारतलाई घचघच्याउ'

ओली-स्वराज वार्तामा दुई देशको सम्बन्धबारे चर्चा

व्यस्त

तस्वीर कपीराइट MEA

भारतीय विदेशमन्त्री स्वराजको काठमाण्डू यात्रा २४ घण्टा जतिको रह्यो तर नेपालका प्रायश: सबै महत्वपूर्ण राजनीतिक खेलाडीलाई उनले भेट्न भ्याइन्।

बिहीवार काठमाण्डू ओर्लिएलगत्तै एमाले अध्यक्ष केपी ओली र उक्त पार्टीका नेताहरुसँग भेटवार्ता गरेकी उनले शुक्रवार वाम गठबन्धनका अर्का नेता प्रचण्डसँग कुराकानी गरिन्।

सत्तारोहणको पर्खाइमा रहेका वाम गठबन्धनका नेताहरुलाई दिल्ली उनीहरुसँग मिलेर काम गर्न असाध्यै इच्छुक रहेको सन्देश स्वराजले दिएजस्तो देखिन्छ जुन भारतीय विदेश मन्त्रालयको शुक्रवारको वक्तव्यमा पनि झल्कन्छ।

त्यस्तै आशय प्रकट गर्दै स्वराजसँगको भेटपछि प्रचण्डले सञ्चारकर्मीहरुलाई भने, "नेपालको चुनावपछिको परिस्थिति, सरकार गठनको तयारीबारे सकारात्मक र रचनात्मक कुराकानी भयो।"

सामान्यतया दुई पक्षीय भ्रमण, आयोजक मुलुक वा त्यहाँको समकक्षीले निम्त्याएपछि हुने गर्छ।

तस्वीर कपीराइट MEA

स्वराजको भ्रमण भने त्यस्तो भएन तर भारतीय वा नेपाली पक्ष कसैले पनि उनको भ्रमण कसरी हुन पुग्यो भन्नेबारे औपचारिक रुपमा मुख खोल्न आवश्यक ठानेनन्।

ओलीको निम्तोमा उनी आएको भन्ने कतिपय विवरण पनि चर्चामा आए तर सँगसँगै भारतीय प्रधानमन्त्री मोदीले सिंहदरबार प्रवेशको तयारीमा रहेका ओलीसँगको सम्बन्ध सुधारको प्रयासमा स्वराजलाई नेपाल पठाएको विवरण पनि अनौपचारिक कुराकानीमा भारतीय जानकारहरु सुनाउँछन्।

प्राथमिकता

ओली र उनको दललाई अन्यको तुलनामा दिल्लीले प्राथमिकता दिएको स्वराजको नेपाल यात्रा प्रष्टै झल्किन्थ्यो।

तस्वीर कपीराइट MEA

भारतको परम्परागत मित्रको रुपमा चित्रित नेपाली कांग्रेस र आफ्नो सहानुभूति रहेको भनिएका तराई केन्द्रित दलसँगको भेटघाट केवल औपचारिकता र शिष्टाचारमा मात्रै सीमित भएको देखियो।

स्वराजसँग शुक्रवार भेटेका संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले भने, "खासै विस्तृतमा कुराकानी भएन। चुनाव तथा भावी सरकारबारे सामान्य प्रसङ्गमा मात्रै उठेको हो।"

स्वराजको भ्रमणबाट कतिपय उत्साहित देखिएपनि, संविधान जारी हुँदा 'जानकारीमा लिएको' भन्ने असन्तुष्टिपूर्ण प्रतिक्रिया दिएको भारतले औपचारिक रुपमा त्यो धारणा परिवर्तनको छनक दिइसकेको पाइँदैन।

तथापि पछिल्लो समय दिल्लीको मन बदलिएको संकेतहरु उसले नेपालसँगको सम्बन्धमा चालेका ताजा कदमहरुमा प्रशस्तै देख्नेहरुको कमी छैन।

सम्बन्धित सामग्री