एफबीआइ विरुद्धको टिपोट सार्वजनिक

ट्रम्प

तस्बिर स्रोत, Reuters

अमेरिकी कंग्रेसले संघीय अनुसन्धान ब्युरो एफबीआइले राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानको अनुसन्धान गर्दा शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै एउटा टिपोट सार्वजनिक गरेको छ।

एफबीआइले उक्त कदमप्रति गम्भिर चिन्ता व्यक्त गर्दै मूख्य तथ्यहरु हटाइएको जनाएको छ।

उक्त टिपोट चुनावी अभियानका क्रममा ट्रम्पका विदेश मामिला सल्लाहकार रहेका कार्टर पेजको टेलिफोन रेकर्डिङमाथि केन्द्रित छ।

उनलाई सन् २०१६ को अक्टोबरमा विद्युतीय निगरानीमा राखिएको थियो।

आरोप

सो टिपोटमा न्याय मन्त्रालय र एफबिआइलाई पेजविरुद्ध जासूसी गर्न प्रमाणित नभएको प्रतिवेदनलाई आधार बनाएको आरोप लगाइएको छ।

ती निकायहरुले अधिकारीहरुलाई उक्त विवरण तयार पार्न डेमोक्र्याटहरुले रकम खर्चेको समेत जानकारी नगराएको भनिएको छ।

उक्त टिपोटमा गुप्त प्रतिवेदनका लेखक पूर्व ब्रिटिश जासूस क्रिस्टोफर स्टिलले न्याय मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई आफू डोनल्ड ट्रम्प चूनावमा पराजित भएको हेर्न व्याकूल रहेको बताएको जनाइएको छ।

उक्त टिपोटलाई गोप्य नराख्न अनुमति दिएका राष्ट्रपति ट्रम्पले ती दस्तवेजमा उल्लेख भएका गतिविधि भयावह भएको प्रतिक्रिया दिएका छन्।

सो टिपोट सार्वजनिक गर्न लगाउने रिपब्लिकन सांसद डेभिड न्युन्सले सर्वसाधारणको विश्वासमाथि गम्भीर आघात गरिएको प्रतिक्रिया दिए।

तर डेमोक्र्याटहरुले चाँहि ट्रम्पको चुनावी अभियान र रुसबीच साँठगाँठ रहेको आरोपबारे छानविन चलिरहँदा उक्त अनुसन्धानलाई अविश्वशनीय बनाउन "लाजमर्दो प्रयास" गरिएको बताएका छन्।

टिपोट सार्वजनिक भएपछि एफबिआइका निर्देशक क्रिस्टोफर रेले आफ्ना कर्मचारीहरुलाई इमेल पठाउँदै निष्पक्षतापूर्वक र कानूनसम्मत ढंगले अघि बढ्ने प्रयासमा आफूले साथ दिने जनाएका छन्।

अघिल्लो वर्ष ट्रम्पले बर्खास्त गरेका एफबीआइका पूर्व निर्देशक जेम्स कोमीले उक्त टिपोट ‍बेइमानीपूर्ण ढंगले झुक्क्याउने हिसाबमा ल्याइएको बताएका छन्।