इटली: कारबाट आप्रवासीमाथि गोली प्रहार

  • 3 फेब्रुअरी 2018
इटली तस्वीर कपीराइट EPA

मध्य इटलीको एक नगरमा बटुवाहरुमाथि श्रृंखलाबद्ध रुपमा गोली प्रहार भएको घटनामा छ जना घाइते भएको प्रहरीले बताएको छ ।

माचराटा नगरमा भएको उक्त घटनामा घाइते हुनेहरु सबै विदेशी भएको जनाइएको छ।

घटनामा संलग्न ठानिएका एक पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

डुङ्गा दुर्घटना हुँदा ९० आप्रवासी डुबेको आशंका

आप्रवासी

ती २८ वर्षीय संदिग्धलाई हिरासतमा लिइँदा उनले आफ्नो घाँटीमा इटलीको राष्ट्रिय झण्डा बेरेका थिए।

उनी सो नगरको स्थानीयबासिन्दा भएको जनाइएको छ।

हमला नस्लवादी सोचले अभिप्रेरित भएको हुन सक्ने अनुमानहरु गरिएका छन्।

कार चलाइरहेकै अवस्थामा उनले भित्रबाटै गोली प्रहार गरेका विवरणहरुमा बताइएको छ।

सामाजिक सञ्जालको बेवसाइट ट्वीटरमार्फत् प्रहरीले ती संदिग्धलाई नियन्त्रणमा लिइँदाको तस्बिर सार्वजनिक गरेका छन्।

साथै घाइतेमध्ये एक जनाको शल्यक्रिया गर्नुपर्ने पनि बताइएको छ।

नियन्त्रण

घटनामा निशाना बनाइएकाहरु विदेशी भएको र स्थानीय सञ्चारमाध्यले तिनीहरु अफ्रिकी आप्रवासीहरु रहेको उल्लेख गरेको छ।

अन्य घाइतेको पनि उपचार भइरहेको छ।

गोली प्रहारको घटना स्थानीय समयअनुसार बिहान ११ बजे भएको जनाइएको छ र ती बन्दुकधारीलाई त्यसको दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

उनले आफूले प्रयोग गरेको कालो रंगको एल्फा रोमियो कार छाडेर भागेका थिए र माचराटा नगर नजिकै रहेको एक युद्ध स्मारक छेउबाट उनलाई हिरासतमा लिइएको हो।

सो नगर नजिकै एक १८ वर्षीया महिलाको शव क्षतविक्षत अवस्थामा एउटा सुटकेशमा फेला परेको केही दिनमै पछिल्लो हमला भएको छ।

गोली प्रहारको घटनापछि इटलीका प्रधानमन्त्रीले आफ्नो चुनावी अभियान हालका लागि स्थगित गरेका छन्।