'पूर्व सांसदको कूटनीतिक पासपोर्ट निष्क्रिय'

  • 4 फेब्रुअरी 2018
संसद

संसदको कार्यकाल सकिएको चार महिना पुग्न लाग्दा समेत कतिपय पूर्वसांसदले फिर्ता नगरेको कूटनीतिक राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको अधिकारीहरुले बताएका छन्।

संसदको कार्यकाल सकिएको एक साताभित्रै रातो पासपोर्ट भनिने कूटनीतिक राहदानी लगायत अन्य सर-सामान फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ।

तर पटकपटक ताकेता गरेपनि पूर्वसांसदले प्रयोग गरेका करिब पाँचसय राहदानीमध्ये झण्डै एक सयवटा फिर्ता नपाएको संसद् सचिवालयले जनाएको छ।

त्यसैले दुरुपयोग हुनसक्ने चिन्ताबीच फिर्ता नभएका राहदानी प्रयोग गर्न नमिल्ने बनाईएको संघीय संसदका प्रवक्ता भरतराज गौतमले बताए।

सकियो संसद अधिवेशन

व्यवस्थापन

उनले भने, 'जुन प्रयोजनका लागि त्यो कूटनीतिक राहदानी जारी गरिएको हो त्यो फिर्ता गर्नै पर्छ। कतिपय नीति अनुसार नै रद्द भैसकेको छ। त्यो पदमा नरहेपछि स्वत: हाम्रो अध्यागमन प्रणालीवाटै प्रयोग गर्न नसकिने गरी व्यवस्थापन गरिएको छ।'

अध्यागमन विभागका अनुसार पदमा नरहेका व्यक्तिले कूटनीतिक राहदानीकै भरमा विदेश गएमा कानुनी दायरामा ल्याउन सकिने व्यवस्था रहेको अध्यागमन विभागको भनाई छ।

तर कूटनीतिक राहदानीमा लामो समयका लागि लागिसकेको प्रवेशाज्ञा अर्को साधारण राहदानीमा सार्न सकिने अध्यागमन विभागका महानिर्देशक दिपक काफ्लेले बताए।

समस्या

उनले भने, 'उहाँहरुले फिर्ता नगरेपनि त्यसको प्रयोग हुने अवस्था छैन। केही प्राविधिक समस्या छन्। केही व्यक्तित्वहरुको लामो समयसम्मको भीसा लागेको छ। रातो पासपोर्टको प्रयोग नगरेर उहाँहरुसँग भएको प्रयोगमा आउने पासपोर्टमा उक्त भीसा सार्न दूतावास मार्फत पहल गर्ने हामीले व्यवस्था मिलाएका छौं।'

कूटनीतिक राहदानी फिर्ता नगर्नेमा प्रमुख दलका कैयौं प्रमुख नेता समेत रहेको बताइएको छ।

हालसम्म अध्यागमन विभागले कार्यकाल सकिएपछि पनि कूटनीतिक राहदानी प्रयोग गरेर विदेश जान खोज्ने विरुद्ध विमानस्थल लगायतका सीमा नाकामा कडाई पूर्वक निगरानी गरिएको बताएको छ।

विभागले हालै कार्यकाल सकिएका एकजना पुरुष र एकजना महिला सांसदलाई विदेश उड्नै लाग्दा राहदानी फिर्ता लिएको जनाएको छ।