रुसी लडाकु विमान सिरियामा खसालियो

  • 4 फेब्रुअरी 2018
रुसी विमान तस्वीर कपीराइट EPA

एउटा सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी लडाकु विमान खसालिदिएको बताएको छ।

ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले 'सुखोइ-२५' नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रको प्रयोगबाट खसालेको जनाइएको छ।

रुसी विदेश मन्त्रालयले विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको जनाएको छ।

सिरियाली सरकारका फौजी कारबाहीलाई मद्दत गरिरहेको रुसले अलेप्पोबाट दक्षिणमा रहेका सडक छेउमा रहेका निशानाहरुमा बम खसाल्दै आएको थियो।

आक्रमण

जवाफी कारबाहीमा ३० भन्दा बढी विद्रोही मारिएको मस्कोले बताएपनि त्यसको सार्वजनिक रुपमा पुष्टि भइसकेको छैन्।

जमिनमा आक्रमणका लागि प्रयोग गरिने सुखोइ विमान इडलिबको मासरान क्षेत्रमा निशानामा परेको हो।

रूसी र अमेरिकी विमान किन त्यति नजिकबाट उडे?

निगरानी समूहहरुका अनुसार रुसी विमानहरुले अघिल्ला २४ घण्टामा त्यहाँ दर्जनौँ हमलाहरू गरेका थिए।

तस्वीर कपीराइट EPA

सामाजिक सञ्जालमा राखिएका भिडिओमा उक्त जेटमाथि आक्रमण भएको, तत्कालै आगो लागेको र त्यसपछि त्यो फन फन घुम्दै तल खसेको देखिन्छ।

जमिनमा लिइएका भिडिओमा विमानको पखेटामा रातो तारा देखिन्छ।

सामाजिक सञ्जालमा राखिएको एउटा भिडिओमा हायत तहरिर अल साम समूहले नजिकैको साराकिब शहरमा हवाई कारबाही गरिरहेको विमानलाई क्षेप्यास्त्र आक्रमण गरी खसालिदिएको जनाएको छ।

उक्त समूहले विभिन्न नाममा वर्षौँदेखि सो क्षेत्रमा गतिविधि गरिरहेको छ।

दुर्लभ

रुसी विदेश मन्त्रालयले विमान चालकको शव प्राप्त गर्न सबै संभव उपाय अपनाइरहेको जनाएको छ।

'अमेरिकाको प्रतिद्वन्द्वी रुस र चीन'

रुस-अमेरिका सम्बन्ध 'खराब' अवस्थामा

भूमध्य सागरमा रहेका रुसी पानी जहाजमार्फत इडलिब प्रान्तमा हवाई क्षेप्यास्त्रहरु प्रहार गरिएको समाजिक सञ्जालमा प्रेषित विवरणहरुमा जनाइएको छ।

तस्वीर कपीराइट Getty Images

रुसी विदेश मन्त्रालयले उक्त क्षेत्रमा अत्याधुनिक अस्त्रहरुको प्रयोग गरिएको जनाएको छ।

पछिल्लो घटनालाई एकदमै दुर्लभ भनिएको छ।

सन् २०१५ को सेप्टेम्बरमा सिरियाविरुद्ध रुसले कारबाही शुरु गरेयता रुसी लडाकु विमान खसालिएको यो पहिलो घटना हो।

सन् २०१६ को सेप्टेम्बरमा विद्रोहीहरुले एउटा रुसी हेलिकप्टर खसालिदिएका थिए।