प्यारिस हमलाः सन्दिग्धबारे सुनुवाइ हुँदै

  • 5 फेब्रुअरी 2018
हमला तस्वीर कपीराइट Reuters

सन् २०१५ को प्यारिस हमलाका एकमात्र जीवित सन्दिग्धबारे बेल्जियममा कडा सुरक्षाबीच सुनुवाइ हुन लागेको छ।

हमलाको चार महिनापछि सलाह अब्देलसलाम ब्रसल्समा पक्राउ परेका थिए।

उनीमाथिको आरोप प्यारिसमा भएका घटनाहरूसँग सम्बन्धित नभइ बेल्जियममा भाग्ने क्रममा प्रहरीसँग भएको गोली हाहाहानको एउटा घटनासँग सम्बन्धित छ।

बन्दुकधारीहरूले प्यारिसस्थित एउटा कन्सर्ट हल, रंगशाला र रेष्टुराँ तथा बारमा गर्दा १३० जना मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए।

‘सामाजिक सञ्जालमा झुट्टा खबर रोक्न कानून’

सर्वाधिक खोजी

आक्रमणकारीहरूमा अब्देलसलामका भाइ ब्राहिम पनि थिए, जो एउटा क्याफेबाहिर आत्मघाती हमलामा मारिएका थिए।

प्यारिसका अभियोजनकर्ताहरू २८ वर्षीय सलाह अब्देलसलामले हमलामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको ठान्दछन्।

तस्वीर कपीराइट BELGIAN/FRENCH POLICE

तर उनले अनुसन्धानकर्ताहरूलाई सघाउन अस्वीकार गर्दै आएका छन्।

चाँडोमा सन् २०२० सम्ममा फ्रान्समा उनीमाथि सुनुवाइ शुरू हुने देखिँदैन।

सजाय

प्यारिस हमलापछि सलाह अब्देलसलाम युरोपमा सर्वाधिक खोजी गरिएका व्यक्ति भए।

र, अन्ततः ब्रसल्सको आफ्नो गृहजिल्ला मोलेन्बीकस्थित एउटा घरमा लुकिरहेको अवस्थामा उनी पक्राउ परे।

सोमवार शुरू हुन लागेको सुनुवाइका क्रममा अब्देलसलाम र उनका २४ वर्षीय सन्दिग्ध सहयोगी सोफियान आयारीले गैरकानूनी रूपमा अस्त्र राखेको र प्रहरी अधिकारीको हत्या गर्ने प्रयास गरेको आरोपको सामना गर्नुपर्ने छ।

आरोप प्रमाणित भए उनीहरूले ४० वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन्छ।

सुनुवाइका क्रममा २०० जति प्रहरीले अदालतको सुरक्षा दिने बताइएको छ।

सम्बन्धित सामग्री