राष्ट्रिय सभाका लागि मतदान शुरू

  • 7 फेब्रुअरी 2018
आयोग

६ वटा प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रदेश नं. २ का सबै सदस्यहरू निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ चुनाव नभएको हो।

आयोगका प्रवक्ता नवराज ढकालले भने, "‍हामीलाई प्राप्त जानकारी अनुसार सबै केन्द्रमा बिहान १० बजेदेखि मतदान शुरू भएको छ।"

आयोगका अनुसार दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ।

नतिजा

निर्वाचनका लागि व्यवस्थापकीय काम पूरा भइसकेको जनाएको निर्वाचन आयोगले परिणाम तीन दिनभित्रै नतिजा घोषणा गर्ने जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनपछि प्रतिनिधि सभाको समानुपातिक परिणाम औपचारिक रूपमा टुङ्गो लाग्नेछ र संघीय संसद् पूर्ण भइ नयाँ सरकार गठनका लागि बाटो खुल्नेछ।

प्रविधि प्रयोगमा निर्वाचन आयोग किन पछाडि?

प्रधानमन्त्री नियुक्तिमा नयाँ 'बहस'

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचनबाट र तीनजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ।

५६ स्थानमध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

बाँकी ३२ स्थानका लागि विभिन्न दलका ५२ उम्मेदवार प्रतिस्पर्धामा छन्।

राष्ट्रिय सभा निर्वाचनपछि पनि संघीय संसद्‍मा ३३ प्रतिशत महिला सहभागिता निश्चित बनाउन अपुग हुने बाँकी संख्या प्रतिनिधि सभाको समानुपातिक तर्फबाट क्षतिपूर्ति गर्ने संवैधानिक व्यवस्था भएकाले तल्लो सदनको अन्तिम परिणाम घोषणा हुन सकेको छैन।

त्यसका कारण सरकार गठनको प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुन सकेको छैन।

त्यसको दवाबमा परेको जस्तो देखिने आयोग राष्ट्रिय सभा निर्वाचनको नतिजा छिट्टै घोषणा गर्ने मनस्थितिमा देखिन्छ।

नतिजा

आयोगका प्रवक्ता नवराज ढकालले भने, "एकल संक्रमणीय मत प्रणालीमा गणना गर्न अभ्यस्त केन्द्रबाट नै विज्ञहरूको टोली परिचालन गरिएको छ। हामी ढिलोमा ३ दिन अर्थात् माघ २६ गतेभित्र वा त्यसभन्दा अगावै नतिजा निकाल्ने गरी काम गरिरहेका छौँ।"

नयाँ संविधान अनुसार पहिलो पटक भएका तीन तहको निर्वाचनमा यो अन्तिम चुनावी प्रक्रिया हो।

सबै तह गरी झण्डै ११ अर्ब रूपैयाँ खर्च हुने अनुमान गरिएकोमा राष्ट्रिय सभाको निर्वाचन खर्च अन्यको दाँजोमा न्यून हुने बताइएको छ।

आयोगका प्रवक्ता ढकाल भन्छन्, "अन्य निर्वाचनको तुलनामा ज्यादै नै न्यून खर्च हुन्छ। कर्मचारी परिचालन र अन्य सामग्रीको दृष्टिकोणले पनि सरल हुन्छ। १५ करोड रूपैयाँभन्दा कम रकम खर्च हुने हाम्रो प्रारम्भिक अनुमान हो।"

राष्ट्रिय सभामा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख गरी २,०५६ जना मतदाता छन्।

तर प्रदेश नं. २ मा सबैजना निर्विरोध निर्वाचित भइसकेकाले बाँकी ६ वटा प्रदेशका १६ सय ७७ जना सांसदले मतदान गर्नेछन्।