ठूलो सैन्य परेडको आयोजना गरौँः ट्रम्प

  • 7 फेब्रुअरी 2018
ट्रम्प तस्वीर कपीराइट Getty Images

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राजधानी वाशिङ्टन डीसीमा एउटा ठूलो सैनिक परेडको आयोजना गर्न रक्षा मन्त्रालय पेन्टागनलाई अह्राएका छन्।

गत वर्षको फ्रान्सको राष्ट्रिय दिवस 'बास्टिल डे'को परेडबाट प्रभावित बनेका ट्रम्पले उच्च सैनिक अधिकारीलाई अमेरिकामा पनि त्यस्तै गर्न आग्रह गरेको बताइएको छ।

वाशिङ्टन डीसीमा सामान्यतया युद्धको अन्त्यतिर विजयको खुसियाली मनाउन मात्र सैनिक परेड आयोजना गरिन्छ।

डेमोक्र्याट्सहरूले सैन्य शक्ति प्रदर्शनको योजनालाई निरंकुश देशहरूले गर्ने प्रदर्शनसँग तुलना गरेका छन्।

'रुसको प्रतिरोध गर्न साना परमाणविक अस्त्र'

'न्यून विन्दुमा अमेरिका रुस सम्बन्ध'

खुलासा

यसअघि वाशिङ्टन पोस्टले उक्त योजनाबारे पहिलो पटक खुलासा गरेको थियो।

ह्वाइट हाउसकी सञ्चार हेर्ने अधिकारी सारा साण्डर्सले त्यसको पुष्टि गरेकी छन्।

तस्वीर कपीराइट AFP/Getty Images

उनले भनिन्, "हाम्रो देशलाई सुरक्षित राख्न जीवन जोखिममा पार्ने महान् सुरक्षाकर्मीका लागि राष्ट्रपति ट्रम्प निकै सहयोगी छन्।"

"उनले रक्षा मन्त्रालयलाई एउटा समारोहको आयोजना गर्न सकिएला कि भनेका छन् जहाँ अमेरिकीहरूले कृतज्ञता जाहेर गर्न सकून्।"

अध्ययन

पेन्टागनले कार्यक्रमबारे अहिले विस्तृत अध्ययन गरिरहेको बताइएको छ।

यद्यपि ह्वाइट हाउसका एक अधिकारीले अझै उक्त योजना 'सोचविचारकै चरणमा' रहेको वाशिङ्टन पोस्टलाई बताएका छन्।

गत वर्षको जुलाईमा ट्रम्पले प्यारिसमा फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सैनिक परेडको अवलोकन गरेका थिए।

त्यसपछि ट्रम्पले भनेका थिए, "त्यो परेड मैले अहिलेसम्म हेरेकामध्ये सबैभन्दा ठूलो थियो। हामीले त्यसभन्दा ठूलो आयोजना गर्ने प्रयास गर्नेछौँ र त्यसलाई जित्नेछौँ।"