‘समानुपातिकको सूची बुझाउन आयोगले शुक्रवार पत्राचार गर्ने

  • 8 फेब्रुअरी 2018
राष्ट्रियसभा निर्वाचन

राष्ट्रिय सभा निर्वाचनको सबै परिणाम आइसकेकाले अब शुक्रवारभित्रै दलहरूलाई प्रतिनिधिसभाको समानुपातिक तर्फको विजेताहरूको सूची पठाउन निर्वाचन आयोगले पत्राचार गर्ने आयोगका अधिकारीले बताएका छन्।

प्रत्यक्षतर्फ थोरै महिलाले मात्रै जितेकाले अब संविधान बमोजिम संघीय संसद्‌को एक तिहाइ महिला पुर्‍याउनका लागि समानुपातिक सिटमा सबैजसो दलले अधिकांश महिलाको नाम पेस गर्नु पर्ने भएको बताइएको छ।

राष्ट्रियसभाका लागि ८३ जनाको उम्मेद्वारी

राष्ट्रिय सभाका लागि मतदान

अन्तिम परिणाम

राष्ट्रियसभाको निर्वाचन परिणाम अनुसार ५६ सिटमा भएको चुनावमा ३९ सिट जितेर नेकपा एमाले र माओवादी केन्द्रसामेल वाम गठबन्धनले दुई तिहाइ सिट जितेको छ।

बिहीवार भएको राष्ट्रियसभाको निर्वाचनमा ५६ सिट मध्ये नेकपा एमालेले २७, नेपाली कांग्रेसले १३, माओवादी केन्द्रले १२ अनि राष्ट्रिय जनता पार्टी तथा संघीय समाजवादी फोरमले २-२ सिट जितेका छन्। बाँकी तीन सिट सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।

निर्वाचन आयोगले पहिले अपेक्षा गरेकोभन्दा केही चाँडो नै राष्ट्रिय सभाको निर्वाचनको परिणाम आएको हो।

पत्राचार

अब उसले शुक्रवारभित्रमा दलहरूलाई समानुपातिकतर्फबाट निर्वाचित हुनेहरूको सूची पठाउन आग्रह गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन्।

'राष्ट्रिय सभा चुनावमा सहकार्यका लागि खुला'

"निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन नतिजा आउने बितिक्कै प्रतिनिधिसभाको समानुपातिक तर्फको सिट बाँडफाँट गरेर दलहरूलाई पठाउने अनि दलहरूबाट नाम समेत प्राप्त गर्ने तयारी गरिरहेको छ। यथासम्भव छिटो यो काम गर्ने तयारी हाम्रो छ। सम्भवत: शुक्रवारसम्म हामी पत्राचार गर्नेछौँ," उनले भने।

हिसाब

राष्ट्रियसभाको परिणामलाई यसअघि प्रतिनिधिसभाको प्रत्यक्षतर्फको परिणामसँग दाँजेर अब राष्ट्रियसभा तथा प्रतिनिधिसभा सहितको संघीय संसद्‌मा सबै दलहरूको ३३ प्रतिशत महिला सदस्य सुनिश्चित हुने गरी हिसाब निकालिने आयोगले बताएको छ।

त्यो हिसाबबमोजिम नै पत्राचार गरिने प्रवक्ता ढकालले बताए, "प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० (४) बमोजिम प्रत्येक राजनीतिक दलबाट छनोट गरेर पठाउनु पर्ने महिलाको संख्या निर्वाचन आयोगले यकिन गर्नुपर्नेछ। त्यसैले आयोगले कुन दलले कति महिला पठाउनु पर्ने हो त्यो समेत उल्लेख गरेर पत्राचार गर्नेछ।"

त्यो हिसाबअनुसार अब पाँचैवटा दलले धेरै महिला सहित समानुपातिकको विजेता सूची दिनुपर्ने देखिन्छ।

उक्त सूची बुझाउन ३ दिनको समय दिइने र कानून बमोजिम नमिले थप २ दिन सच्च्याउन समय दिइने बताइएको छ।