'आयातित तरकारी/फलफूलमा परीक्षण फितलो'

  • 8 फेब्रुअरी 2018
तरकारी व्यापार

भारत र चीनसँगको नाका हुँदै दैनिकजसो नेपाल भित्रिने तरकारी र फलफूलमा मापदण्डभन्दा बढी विषादी छ वा छैन भनी परीक्षण गर्ने निकाय अर्थात् क्वारेण्टाईन जाँचचौकीहरु, दक्ष जनशक्ति र उपकरणको अभावका कारण फितलो रहेको अधिकारीहरुले बताएका छन्।

नेपाल भित्रिने त्यस्ता विषादीयुक्त कृषि उत्पादनले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पारिरहेको चिन्तामाझ अधिकारीहरुले त्यस्तो बताएका हुन्।

विषादी जोखिमका कारण फस्टायो ‘अर्गानिक’ बजार

तरकारीमा विषादीको जोखिम कति?

सिमानाकामा गरिने जाँच र भित्रिईसकेपछि हुने विषादीको अवशेष परीक्षणको दायरा सानो रहेको र अधिकांश औपचारिकतामै सीमित रहेको कतिपय कृषि विज्ञको टिप्पणी छ।

कृषिजन्य उत्पादनको आयात निर्यातको नियमन र जोखिम विश्लेषण गर्न तथा व्यवस्थापनका लागि भन्दै पाँचवटा क्षेत्रिय कार्यालय मातहत आठवटा जाँचचौकी तथा दुईवटा उप जाँचचौकी विभिन्न सीमा नाकामा रहेको अधिकारीहरुले बताएका छन्।

प्रभावकारी

तीमध्ये तीन वटा नेपाल-चीन सिमानामा, एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र बाँकी नेपाल-भारत सिमानामा रहे पनि अधिकांश दक्ष जनशक्ति र उपकरण अभावका कारण प्रभावकारी नरहेको बताइन्छ।

कृषि विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्लान्ट क्वारेण्टाईन कार्यक्रमका निर्देशक पुरुषोत्तमलाल हाडाले भने, ''मुख्यगरी दक्ष जनशक्तिको कमी हामीले महशुस गरेका छौं। यसलाई दिइनुपर्ने प्राथमिकता पनि त्यति पाउन सकेको अवस्था छैन र परीक्षणका लागि आवश्यक प्रयोगशालाहरुको पनि अझै व्यवस्था भइसकेको अवस्था छैन।''

सरकारी निकायसँग छिमेकी मुलुकबाट आयात हुने तरकारी र फलफूलको यकिन तथ्याँक नभएपनि दैनिक करोडौं रुपैयाँ बराबरको तरकारी र फलफूल भारतबाट मात्रै आयात हुने गरेको उनीहरुको अनुमान छ।

निर्देशक हाडाका अनुसार क्वारेण्टाईन जाँचचौकीले निश्चित फलफूल तथा तरकारीमा रोग, किरा वा विषादी भए,नभएको परिक्षण गर्छ तर सूचीमा नरहेका कतिपय उत्पादनको परीक्षण गर्न भने अन्य निकायमा पठाउने गरिएको छ।

कृषिजन्य उत्पादनहरु बजारमा पुग्नु अघि विषादीको अवशेषको वैज्ञानिक परीक्षण गरिने कृषि मन्त्रालय अन्तर्गतकै बाली संरक्षण निर्देशनालयको भनाइ छ।

दायरा

सरदर १,००० वटा नमुना परीक्षण गर्दा तीनदेखि चार वटामा मात्रै खान नहुने विषादी प्रयोग भएको भेटिने गरेको उक्त निर्देशनालयले जनाएको छ।

तर देशका सात मुख्य शहरमा स्थापना गरिएका विषादी परीक्षण प्रयोगशालाको परीक्षणको दायरामा आयात हुने तरकारी तथा फलफूलको हिस्सा सानो भएको विज्ञहरु बताउँछन्।

त्यस्तैमध्येका एक कृषिविज्ञ निलकण्ठ शर्मा भन्छन्, ''ती अनुगमन गर्ने निकाय त्यति सक्रिय छैनन्। तरकारी र फलफूलको अनुगमन गर्ने क्वारेण्टाईन जाँचचौकीहरुमा पुगेरै हेर्दा केवल औपचारिकता निभाउने काम मात्र भइरहेको छ। जबकी नेपालबाट भारत जाने कृषिजन्य उत्पादनमा चाहीं भारतले कडाई गरेको पाइन्छ।''

ठूलो संख्यामा आयातित तरकारी तथा फलफूल, विषादी परीक्षणको दायराबाट बाहिरै रहने गरेको र नेपालभित्रैका उत्पादनमा समेत प्रतिबन्धित विषादी प्रयोग भइरहेकोले उपभोक्ता र कृषक दुवैको स्वास्थ्यमा दीर्घकालीन जोखिम परेको जानकारहरु बताउँछन्।

सम्बन्धित सामग्री