कागती जातका फलको उत्पत्ति कहाँ र कहिले भयो?

  • 9 फेब्रुअरी 2018
सुन्तला तस्वीर कपीराइट Getty Images

सिट्रस फ्रुट भनिने कागती र सुन्तला जातका फलफूलको डीएनए प्रमाणबाट तिनको उत्पत्ति हिमालयको दक्षिणपूर्वी काखबाट भएको वैज्ञानिकहरूले बताएका छन्।

असी लाख वर्षअघि पहिलो सिट्रसको बोट त्यो क्षेत्रमा उम्रिएपछि संसारभरि फैलिएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूले बताएका हुन्।

त्यो बोट विकसित हुँदै जाँदा हाम्रा भान्छामा मिठो सुन्तलादेखि अमिलो कागतीसम्म बनेर आइपुगेको छ।

सिट्रस परिवारका वनस्पतिहरू संसारभरि रोपिएका छन्। तर तिनको इतिहास भने स्पष्ट थिएन।

पहिलो फूल के यस्तै थियो?

पुतली २० करोड वर्षअघि अस्तित्वमा

‘पृथ्वी जत्रै सात ग्रह अस्तित्वमा’

विकास

सिट्रसको उत्पत्तिको इतिहास पत्ता लगाउन अमेरिका र स्पेनका वैज्ञानिकहरूले सिट्रस परिवारका ५० भन्दा बढी फलहरूका जीनको अध्ययन गरेका थिए।

'नेचर' नामक जर्नलमा छापिएको अध्ययनका अनुसार अहिलेका आधुनिक सिट्रस फलहरू आसामको पूर्वी क्षेत्र, उत्तरी म्यानमार र पश्चिमी युनान क्षेत्रबाट विकसित भएका हुन्।

लाखौँ वर्षअघि जलवायु परिवर्तन हुँदा कमजोर मनसुनी वर्षा र सुख्खा मौसमका बेला ती सिट्रस वनस्पतिहरू हिमालयबाट दक्षिणपूर्वी एसियामा फैलिएका थिए।

त्यहीँबाट तिनीहरू सारा संसारमा फैलिए र अस्ट्रेलियामा ४० लाख वर्षअघि पुगे।

तस्वीर कपीराइट Getty Images

अध्ययन

सो लेखमा गरिएको विश्लेषणका अनुसार आजका सिट्रस फलहरू लाखौँ वर्षको क्रमिक विकास र मान्छेले गरेका अनेक खाले प्रजाति विकासक्रमबाट प्राप्त भएका हुन्।

विभिन्न सिट्रस फलको 'जेनेटिक म्याप'का आधारमा विभिन्न खालका रोग र किटाणुसँग लड्न सक्ने प्रजाति तथा नयाँ स्वाद र गन्ध भएका फल उत्पादन गर्न वैज्ञानिकहरूलाई सहयोग पुर्‍याउने ठानिएको छ।

सिट्रस फलको जीवावशेष असाध्यै कम पाइएको छ।

तर दक्षिण पश्चिमी चीनमा करिब ८० लाख वर्षअघि पाइएको सिट्रसको पातको अवशेष अहिले गरिएको वंशाणु अध्ययनसँग मेल खाएको बताइएको छ।

अन‌ि यो पनि

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
महिलालाई पुरुषलाई भन्दा बढी चिसो अनुभव हुने अनुसन्धानले देखाएको छ।