'समानुपातिक सूची पठाउन तीन दिने म्याद'

  • 9 फेब्रुअरी 2018
निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको सिट संख्या तोकेर सोही बमोजिम नामावली पठाउन शुक्रवार तीन दिनको समय दिएको छ।

पाँचवटा राष्ट्रिय दलहरुले ११० सिटमा ८४ जना महिला सदस्यको नाम सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ।

प्रत्येक दलबाट निर्वाचित जम्मा सदस्य संख्याको कम्तिमा एक तिहाई महिलाको प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ।

दलहरुले यसअघि पेश गरेको बन्दसूची अनुसार समानुपातिकतर्फ निर्वाचित हुने सदस्यको नामावली पेश गर्न माघ २९ गतेसम्मका लागि समय दिइएको आयोगका अधिकारीहरुले जनाएका छन्।

समानुपातिक

प्रतिनिधिसभातर्फ पहिलो हुनेले जित्ने अर्थात् प्रत्यक्ष निर्वाचन प्रणालीबाट र राष्ट्रिय सभामा निर्वाचित भएका महिला सदस्य संख्याको आधारमा पाँचवटा राष्ट्रिय दलहरुले एक तिहाइ पुर्याउन समानुपातिकबाट पठाउनुपर्ने महिला संख्या आयोगले टुंगो लगाएको हो।

जसअनुसार सबैभन्दा ठूलो दल एमालेले कम्तीमा ३७ जना, कांग्रेसले २०, माओवादी केन्द्रले १६, राष्ट्रिय जनता पार्टीले ६ र संघीय समाजवादी फोरम नेपालले ५ महिला सदस्यको नाम सिफारिस गर्नुपर्ने आयोगले जनाएको छ।

समानुपातिकबाट महिला प्रतिनिधित्व

८४

संसदमा एक तिहाइ महिला सहभागिता पुर्याउन पठाउनुपर्ने महिला सांसदको कुल संख्या

३७

एमालेले पठाउनुपर्ने संख्या

  • २० कांग्रेसले पठाउनुपर्ने संख्या

  • १६ माओवादी केन्द्रले पठाउनुपर्ने संख्या

  • राजपाले पठाउनुपर्ने संख्या

  • संसफोले पठाउनुपर्ने संख्या

तस्बिर: बीबीसी

समावेशी समूह र लैङ्गिक सन्तुलन मिलाई आगामी ‍तीन दिन भित्र समानुपातिकतर्फको सूची पेश गर्न आयोगले भनेको छ।

पत्रकार सम्मेलनमा आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले भने, ''यसअघि केही राजनीतिक दलले समयमै नामावली नबुझाउँदा हामीले निकै सास्ती बेहोर्नु पर्‍यो। त्यसैले यसपटक समावेशी समूह, संविधान, ऐन-नियमावली, निर्देशिका र आयोगबाट पठाईएको पत्रमा उल्लेखित व्यवस्था अनुसार नामावली पेश गर्न अनुरोध गर्दछु।''

कूल ४९ वटा दलहरुले समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर ३ गते बन्दसूची पेश गरेकोमा ५ वटा दलहरुले मात्र तीन प्रतिशतको न्यूनतम मतसीमा अर्थात् थ्रेसहोल्ड कटाएका थिए।

प्रतिवेदन

जसअनुसार ११० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राजपा र फोरमले ६-६ सिट प्राप्त गरेका छन्।

उक्त सिट संख्याअनुसार दलहरुले पठाएको नामावली सच्याउन पुन: दुई दिनको समय दिइने आयोगको भनाइ छ।

तत्पश्चात् राष्ट्रपतिसमक्ष उक्त मत परिणामको प्रतिवेदन बुझाउने तयारी आयोगले गरेको छ।

आयोगका सचिव पौड्यालले भने, ''सम्पूर्ण नतिजा प्राप्त भईसकेपछि हामीले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश गर्ने तयारी गरेका छौं।''

राष्ट्रिय सभाको प्रतिवेदन पनि आइतबारसम्म बुझाउने आयोगको तयारी छ।

तर समानुपातिकतर्फ दलहरुले पेश गर्ने सूची सच्याउन नपर्ने अवस्थामा फागुन २ गते अघि नै राष्ट्रपति समक्ष प्रतिनिधिसभातर्फको नतिजा पेश गरिने पनि आयोगले जनाएको छ।

अन्तिम मतपरिणाम घोषणा हुन नसक्दा लामो समययता अड्किएको सरकार गठनको गाँठो त्यसपछि फुक्ने ठानिएको छ।