दक्षिण कोरियाली राष्ट्रपति मूनलाई उत्तर कोरियाको निम्तो

  • 10 फेब्रुअरी 2018
किम जोङ-अन तस्वीर कपीराइट KCNA

उत्तर कोरियाका नेता किम जङ-अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनलाई प्योङयाङ भ्रमणको निम्तो दिएका छन्।

भेट भएमा त्यो दुई कोरियाली नेताहरुबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ।

दुवै कोरियाले 'यसलाई सम्भव बनाउनुपर्ने' बताएका मुनले उत्तर कोरियालाई अमेरिकासँगको छलफलमा फर्कन जोड दिएका छन्।

शीतकालीन ‌ओलिम्पिक्सको उद्घाटन समारोहअघि दक्षिण कोरियाली राजधानी सोलस्थित राष्ट्रपति भवनमा भएको एक ऐतिहासिक भेटका क्रममा उत्तर कोरियाली नेता किम जङ-अनको हस्तलिखित निमन्त्रणा पत्र उनकी प्रभावशाली बहिनी किम यो-जङले राष्ट्रपति मूनलाई हस्तान्तरण गरेकी थिइन्।

प्रत्यक्ष वार्ताका लागि उत्तर कोरिया सहमत

हृदय

किम यो-जङ र उत्तर कोरियाका आलंकारिक राष्ट्रप्रमुख किम योङ-नामको प्रतिनिधिमण्डल सन् १९५० मा कोरियाली युद्ध भएयता उत्तरबाट दक्षिण कोरियाको भ्रमण गर्ने उच्चस्तरीय टोली हो।

दुवै कोरियाली नेताहरुबीच करिब तीन घण्टा कुराकानी भएको थियो।

दक्षिण कोरियाली राष्ट्रपति भवनका एक प्रवक्ताका अनुसार 'जतिसक्दो छिटो' उत्तर कोरियाको भ्रमण गर्न किम यो-जङले आग्रह गरेकी छन्।

तस्वीर कपीराइट AFP/GETTY IMAGES
Image caption ओलिम्पिक्स् उद्घाटनका क्रममा उत्तर कोरियाली नेताकी प्रभावशाली बहिनी र अमेरिकी उपराष्ट्रपतिबीच जम्काभेट भएको थियो

वासिङ्टन पोस्टकी टोकियो ब्युरो प्रमुखले ट्वीटरमा राखेको सन्देश अनुसार किम यो-जङले 'कोरियालीहरुको हृदयमा प्योङयाङ र सोल अझ नजिक हुने' तथा 'निकट भविष्यमा एकताबद्ध र समृद्ध हुने' विश्वाससहितको टिपोट राष्ट्रपति भवनमा छाडेकी छन्।

'उत्तर कोरिया संकट समाधान सम्भव'

प्योङयाङसँग कुनै खाले सम्बन्ध नराख्न अमेरिकाले सोललाई चेतावनी दिएपछि उक्त भेटवार्ता भएको छ।

प्योङयाङको परमाणु कार्यक्रमका कारण उत्पन्न तनावका माझ भइरहेको शीतकालीन ‌ओलिम्पिक्समा उत्तर कोरियाको सहभागिताले सोल नरम बन्दै जान सक्नेतर्फ ट्रम्प प्रशासन सतर्क छ।

जम्काभेट

संवाददाताहरु भन्छन्- चुनावी अभियानमा उत्तरसँग सम्बन्ध कायम राख्ने वाचा गरेका राष्ट्रपति मुनलाई यो निमन्त्रणाले अप्ठ्यारो अवस्थामा ल्याएको छ। त्यसतर्फको अग्रसरता उनको साझेदार अमेरिकाको इच्छाविरुद्ध हुनेछ।

दक्षिण कोरियाली समाचार संस्था योन्हापका अनुसार यसअघि ‌ओलिम्पिक्सको उद्घाटनका क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र किम यो-जङबीच जम्काभेट भएको थियो तर दुवैले आपसमा आमनेसामने नभइयोस् भन्ने कोसिस गरेका थिए।

सो समारोहमा पेन्स, किम यो-जङ र किम योङ-नाम एकअर्काको नजिक बसेका थिए।

रंगशालाभित्र आयोजक देश दक्षिण कोरियाका खेलाडीहरुले उत्तर कोरियाली खेलाडीसँगै मार्च गर्दा पेन्स आफ्नो स्थानबाट उठेनन्।

शनिबार साँझ स्वीट्जरल्याण्डविरुद्ध दुवै कोरियाको संयुक्त आइस हकी टोलीको पहिलो खेलका क्रममा दक्षिण कोरियाली राष्ट्रपति मुन तथा किम यो-जङ र किम योङ-नाम उपस्थित थिए।

शक्तिशाली बहिनी

तस्वीर कपीराइट NEWS1
Image caption कोरियाली युद्धका कारण लाखौ मानिसको विछोड भएको छ

उनी शीतकालीन ‌ओलिम्पिक्स खेलमा सहभागी उत्तर कोरियाली प्रतिनिधिमण्डलको सबैभन्दा उच्च तहकी सदस्य हुन्।

सन् १९५०-५३ को कोरियाली युद्धपश्चात् दक्षिणको भ्रमण गर्ने उत्तर कोरियाली शासक परिवारकी उनी पहिलो सदस्य बनेकी छन्।

दाजु किम जङ-अनसँग निकै नजिक रहेकी भनिएकी उनी गत वर्ष पार्टीको शक्तिशाली मानिएको पोलिटब्युरोकी सदस्यमा बढुवा भएकी थिइन्।

उत्तर कोरियामा भएका मानव अधिकार उल्लंघनका घटनालाई लिएर अमेरिकाले उनलाई प्रतिबन्धितहरुको सूचीमा राखेको छ।

आफ्ना दाजुभन्दा करिब चार वर्ष कान्छी किम यो-जङको उमेर करिब ३० वर्ष भएको ठानिएको छ।