‘सुरक्षा संरचनाको कमीले दुर्घटना बढ्दो’

बस
तस्बिरको क्याप्शन,

फाइल फोटो

जोखिमपूर्ण भनी पहिचान गरिएका सडकमा समेत उचित सुरक्षा उपाय अवलम्बन नगरिँदा यात्रा जोखिमपूर्ण बन्दै गएको विज्ञहरूले बताएका छन्।

तर जोखिम न्यूनीकरणका लागि सडकको पूर्वाधारमा सुधारका अतिरिक्त घुम्ती फराकिलो पार्ने, ऐना वा संकेत राख्ने र नदी किनारका सडकमा स्टीलका बार लगाउने लगायतका काम प्राथमिकताका साथ अघि बढाइएको सडक विभागको भनाइ छ।

पृथ्वी राजमार्गको धादिङ खण्डमा शनिवार बिहानै त्रिशुली नदीमा जीप खस्दा सिँचाइ सचिव रामानन्द यादवसहित दुईजनाको ज्यान गयो भने एकजना अझै बेपत्ता छन्।

सोही सडकखण्डमा केही महिनाअघि मात्रै ३१ जनाको ज्यान जानेगरी यात्रुबस दुर्घटना भएको थियो।

तथ्याङ्क

एकपछि अर्को भएका यस्ता दुर्घटनाका कारण नेपालमा बर्सेनि सरदर करिब २ हजार जनाको ज्यान जाने गरेको सरकारी तथ्याङ्क छ।

तर साँघुरा सडकका घुम्तीहरूमा राखिनुपर्ने संकेत तथा सडक छेउमा राखिनुपर्ने स्टीलबार वा पर्खाल जस्ता सामान्य पूर्वाधार समेत नहुँदा त्यस्ता दुर्घटना पटक-पटक हुने गरेको सडकसम्बन्धी विज्ञ तुलसी सिटौलाको तर्क छ।

उनले भने, "सडक दुर्घटना न्यूनीकरण गर्न सडक संरचनाको महत्त्व अत्यन्तै छ। नदी किनारमा रहेको सडक छ भने छेउमा स्टीलबार राख्यो भने त्यसमा ठोक्किएर गाडी तल नखस्ने हुनाले दुर्घटना कम गर्न र क्षति घटाउन सकिन्छ।"

त्यसो त सडक यात्रा सुरक्षित बनाउन भन्दै नियम, कानून र निर्देशिका बनाउने, परिमार्जन गर्ने र विभिन्न सडकखण्डको जोखिम पक्ष अध्ययन गर्ने कार्य नभएका होइनन्।

चितवनको जुगेडीदेखि मुग्लिङसम्मको २२ किलोमिटर सडकखण्डमा झण्डै ३२ ठाउँमा दुर्घटनाको उच्च जोखिम रहेको पछिल्लो अध्ययनले देखाउँछ।

बनावट

तर त्यस बमोजिम सडक किनारमा रेलिङ लगायतका संरचना तथा राति वा वर्षामा समेत देखिने संकेत वा बत्तीहरु जडान गर्ने कार्य नभएको जानकारहरू बताउँछन्।

तर त्यसको बचाउ गर्दै सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले भने, "हामीले दुर्घटना बढी हुने र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील ठाउँमा सुधार गरिरहेका छौँ। पछिल्लो समय कर्णाली वा सुदूरपश्चिमका धेरै ठाउँमा हामीले छेक्ने बार राखिसकेका छौँ।"

दुर्घटनापछि भएका कतिपय छानबिन समितिका प्रतिवेदन अनुसार अप्ठ्यारो भौगोलिक बनावट, अधिकांश सडकको खराब अवस्था, यान्त्रिक गडबडी र सवारीचालकको लापरवाही वा सरकारी तहबाट हुने फितलो अनुगमन दुर्घटनाका प्रमुख कारण हुन्।

तर सडक सुरक्षाका लागि करोडौँ रुपैयाँ छुट्ट्याइए पनि सामान्य पूर्वाधार अभावले समेत ठूला दुर्घटना हुने क्रम नरोकिएको भन्दै चिन्ता व्यक्त भएका छन्।