‘उत्तर कोरियाबारे दक्षिणसँग मतभेद छैन’

तनाव

तस्बिर स्रोत, AFP/GETTY IMAGES

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियालाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे आफ्नो देश र दक्षिण कोरिया पूर्णतः सहमत रहेको बताएका छन्।

दक्षिण कोरियामा शीतकालीन ओलिम्पिक्सको उद्घाटन समारोहमा सहभागी भएर स्वदेश फर्कने क्रममा बोल्दै उनले उक्त विषयमा दुई देशबीच 'कुनै मतभेद' नरहेको बताए।

पारमाणविक कार्यक्रमसम्बन्धी तनावका बावजुद शीतकालीन ओलिम्पिक्सले दुई कोरियाबीचको सम्बन्धमा केही सुधार ल्याएको देखिन्छ।

तर उत्तर कोरियाली प्रस्तावदेखि अमेरिकाले आफूलाई परै राखेको छ।

प्रोत्साहित

शनिवार उत्तर कोरियाली नेता किम जङ्-अनले दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनलाई प्योङयाङ्मा वार्ताका लागि निम्तो दिएका थिए।

भेट भएमा त्यो दुई कोरियाली नेताहरूबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ।

तस्बिर स्रोत, KCNA

मूनले कोरियाली जनताले त्यसलाई 'सफल पार्न लगाउनुपर्ने' बताउँदै अमेरिकासँगको वार्तामा फर्कन उत्तर कोरियालाई प्रोत्साहित गरेका छन्।

तर दुई देशलाई निकट ल्याउने प्रयासमा प्योङयाङ्को पारणाविक कार्यक्रम तगारो बन्नेछ।

मतभेद

अमेरिकी प्रशासन प्रतिबन्धहरू र राष्ट्रपति डोनल्ड ट्रम्पका कडा अभिव्यक्तिहरूमार्फत उत्तर कोरियामाथि दवाब कायम राख्न चाहन्छ।

शनिवार स्वदेश फर्कनुअघि पत्रकारहरूसँग कुरा गर्दै उपराष्ट्रपति पेन्सले भने, "उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम नत्यागेसम्म उसलाई आर्थिक र कूटनीतिक रूपमा अलग्याउनुपर्ने आवश्यकताबारे अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै मतभेद रहेको छैन।"

शीतकालीन ओलिम्पिक्स शनिवार शुरू भएपछि सोलस्थित राष्ट्रपतिको कार्यालयमा हस्तलिखित निमन्त्रणा पत्र किम जङ्-अनकी प्रभावशाली बहिनी किम यो-जङ्ले दक्षिण कोरियाली राष्ट्रपति मूनलाई थमाएकी थिइन्।

दुई कोरियाबीच सन् १९५० दशकमा युद्ध भएपश्चात् उत्तर कोरियाका आलङ्कारिक राष्ट्राध्यक्ष किम यङ्-नामले पहिलो वरिष्ठ व्यक्तिको रूपमा दक्षिण कोरियाको भ्रमण गरेका हुन्।