रूसी विमान दुर्घटना: सवार सबै ७१ जनाको मृत्यु

रुसी विमान

तस्बिर स्रोत, EPA

विमानमा सवार यात्रु र चालकदलका सदस्यसहित सबै ७१ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

प्रत्यक्षदर्शीहरुले आगोको लप्काले छोपिएको विमान मस्कोको दक्षिण पूर्वमा पर्ने एक गाउँमा खसेको देखेका थिए।

उडेको केहीबेरमा दुर्घटना भएको विवरणहरुमा जनाइएको छ।

डेमडयड्भ विमानस्थलबाट उडेको दुई मिनेटमै विमानको राडार सम्पर्क टुटेको थियो।

आपतकालीन सेवाका उद्धारकर्ताहरु घटनास्थलमा पुगिसकेका छन्।

प्रतिबन्ध

दुर्घटनामा परेको एन्टोनोभ १४८ विमान आन्तरिक उडानका क्रममा थियो।

काजकस्तानसँगको सीमा नजिकैको एक शहर जान विमानले उडान गरेको थियो।

विमानको सञ्चालक सारातोफ एयरलायन्सलाई सुरक्षासम्बन्धी प्रावधान उल्लंघन गरेको भन्दै झण्डै तीन वर्षअगाडि प्रतिबन्ध लगाइएको थियो।

त्यति बेला उक्त एयरलायन्सका एक जना नजिकका नातेदारलाई विमानको ककपिटमा पाइएपछि त्यस्तो कारबाही गरिएको थियो।

पछि उक्त प्रतिबन्धविरुद्ध अपिल गर्दै उसले केही नीतिमा सुधार गरेपछि सन् २०१६ बाट अन्तर्राष्ट्रिय चार्टर उडान गर्ने अनुमति पाएको थियो।