प्रदेश सरकार गठनको प्रक्रिया प्रारम्भ

  • 11 फेब्रुअरी 2018
शंकर-डोरमणि तस्वीर कपीराइट facebook

प्रदेश सभाको चुनाव भएको करिब साढे दुई महिनापछि विभिन्न प्रदेशमा सरकार गठनको विधिवत् प्रक्रिया प्रारम्भ भएको छ।

प्रदेश ३ मा बहुमत प्राप्त एमालेले संसदीय दलको नेतामा डोरमणि पौडेल चुनिएको जानकारीसहित आइतवार आफ्ना ५८ प्रदेश सभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको छ।

त्यसपछि पौडेललाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले जानकारी दिए।

उनका अनुसार सोमवार बिहान पौडेलको शपथ ग्रहण र पदवहालीको कार्यक्रम राखिएको छ।

प्रदेश ३ मा एमाले एक्लैको बहुमत छ।

तथापि वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रले पनि आफ्ना सदस्यहरूको हस्ताक्षरसहित पौडेललाई समर्थन रहेको पत्र प्रदेश प्रमुख कार्यालयमा बुझाएको जनाएको छ।

'संघीयता कार्यान्वयनमा महत्वपूर्ण आधार'

दावी

प्रदेश ५ मा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष आइतवार दाबी पेश गरेका छन्।

कुल ८७ जना सदस्य रहेको प्रदेश ५ मा एमालेका ४१ र माओवादी केन्द्रका २० प्रदेश सभा सदस्य छन् र यी दुई दल मिल्दा सरकार गठनका लागि सहजै बहुमत पुग्छ।

उक्त प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका एमाले नेता शंकर पोखरेल फागुन ३ गते शपथ ग्रहण गर्ने बताए।

पोखरेलका अनुसार सो दिन उनीसँगै अरु दुई मन्त्रीलाई पनि शपथ दिलाउने तयारी छ।

यो प्रदेशमा सभामुख पाउने माओवादी केन्द्रले व्यक्तिको टुंगो लगाउन बाँकी छ।

सर्वसम्मत

एमाले नेता पृथ्वी सुब्बा गुरुङलाई प्रदेश ४ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

एमाले प्रदेश संसदीय दलको आइतवार बसेको बैठकले पूर्वमन्त्री तथा एमालेका सचिव गुरुङलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो।

६० सदस्यीय प्रदेश सभामा एमालेका २७ सदस्य छन् ।

वाम गठबन्धनमा रहेको माओवादी केन्द्रबाट १२ जना सदस्य छन्।

प्रतिपक्षमा बस्ने नेपाली कांग्रेसबाट प्रदेश सभामा १५ , राष्ट्रीय जनमोर्चाबाट ३ र नयां शक्ति पार्टीबाट दुईजनाले प्रतिनिधित्व गरेका छन्।