भावी मुख्यमन्त्रीलाई लिएर एमालेमा असन्तुष्टि

एमाले बैठक

तस्बिर स्रोत, .

प्रदेशमा भावी मुख्यमन्त्री चयनको विषयलाई लिएर नेकपा एमालेको स्थायी कमिटी बैठकमा चर्को असन्तुष्टि प्रकट भएको बताइएको छ।

पार्टीभित्र अध्यक्षको विपक्षी खेमाले मतदान प्रभावित गर्ने क्रियाकलाप समेत भएको आरोप लगाएको छ।

बैठक प्रतिनिधि सभामा पठाउने समानुपातिक सांसद चयन गर्न डाकिएको थियो।

तर बैठक त्यतिमै सीमित भएन।

नेताहरुका अनुसार प्रदेश ३ मा संसदीय दलको नेताको निर्वाचनका क्रममा गुटबन्दीको आधारमा आफूलाई हराइएको भन्दै उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले असन्तुष्टि जनाएकी थिइन्।

त्यसमा समर्थन जनाएका कतिपय वरिष्ठ नेताका भनाइमा पहिलो पटक संघीय अभ्यासमा जाँदा सहमतिका आधारमा भावी मुख्यमन्त्री चयन गरिनुपर्थ्यो।

छानबिन

नेत्री शाक्यको असन्तुष्टिमा साथ दिएका नेता मध्येका एक, पार्टीका पूर्वअध्यक्ष झलनाथ खनालले बीबीसीसँग भने, "हामी आफै संक्रमणको अवस्थामा रहेका बेला सोच-विचार गरेर सकेसम्म सहमतिको बाटो हिड्न पाएको भए हुन्थ्यो भन्ने मेरो लगायत धेरैको धारणा थियो।"

भावी मुख्यमन्त्री बन्ने संसदीय दलको नेता छान्दा 'अस्वस्थ अभ्यास र अनुचित क्रियाकलाप' भएको कुरा पनि बैठकमा उठेको नेताहरुले जनाएका छन्।

त्यसलाई अध्यक्ष पक्षतर्फ लक्षित ठानिएको छ।

वरिष्ठ नेता खनालको भनाइ छ, "मान्छे त किटानी गरिएन। तर त्यस्तो भएको हो भने पार्टीले राम्ररी छानविन गर्नुपर्ने कुरा भएको छ।"

त्यस्ता क्रियाकलाप भएको भए त्यो छानविन र कारबाहीको विषय हुने बताएको संस्थापन पक्षले तर त्यस्तो जानकारी पार्टी बैठक र नेतृत्व समक्ष नआएको जनाएको छ।

तस्बिरको क्याप्शन,

एमालेबाट मुख्यमन्त्री बन्ने चारैजना नेता अध्यक्ष निकट चुनिएका छन्

शक्तिशाली ओली

संस्थापन निकट नेताका अनुसार पार्टी अध्यक्ष ओलीले मतदानको अघिल्लो दिन 'हार्ने स्थितिमा चुनाव नलड्न' आग्रह गर्दा नेत्री शाक्यले नै जित्ने दाबी गरेपछि मतदान गरिएको बताए।

ओलीका विश्वासपात्र मानिने पार्टी सचिव प्रदीप ज्ञवालीले भने, "अघिल्लो स्थायी कमिटी बैठकको सर्वसम्मत निर्णय अनुसार नै गोप्य मतदानबाट संसदीय दलको नेता चयन गरिएको हो। यद्यपि त्यो प्रक्रियामा कहींकतै कमजोरी रहेका भए छलफल गर्न सकिन्छ।"

जनजाति महिला र पार्टी उपाध्यक्ष शाक्यको पराजयसँगै महिला मुख्यमन्त्री बन्ने सम्भावना किनारा लागेको देखिन्छ।

त्यसैले उक्त विषयले एमाले बाहिर पनि तीव्र प्रतिक्रिया जन्माइदिएको छ।

एमालेका चारैजना भावी मुख्यमन्त्री अध्यक्ष ओली निकट हुन्।

त्यसलाई हरेक जसो पार्टीमा देखिने चरम गुटबन्दीबाट अलग नरहेको एमालेभित्र अध्यक्ष ओली शक्तिशाली रहेको पछिल्लो उदाहरण ठानिएको छ।