प्रदेशमा खटाइएका कर्मचारी केन्द्र फर्कँदै

  • 12 फेब्रुअरी 2018
सामान्य प्रशासन मन्त्रालय तस्वीर कपीराइट MOGA

सरकारले प्रदेश सभा बैठक सञ्चालन गर्न खटाइएका संसद् सचिवालयका कर्मचारीलाई केही दिनमै काठमाण्डू फिर्ता गर्ने भएको छ।

प्रशासन सेवाका कर्मचारीलाई तालिम त्यहाँ काम लगाउने अधिकारीहरुले दिने जनाइएको छ।

सामान्य प्रशासन मन्त्रालयका अनुसार केन्द्रीय संसद्का दुवै सदनको बैठकको निम्ति कर्मचारी अपुग हुने भएकाले संसद् सेवाका कर्मचारी फर्काउने निर्णय भएको हो।

प्रदेशसभको पहिलो बैठक सञ्चालन गर्न प्रत्येक प्रदेशमा संसद् सचिवालयबाट तीन-तीन जना कर्मचारी खटाइएका थिए।

प्रदेश सरकार गठनको प्रक्रिया प्रारम्भ

अपुग

तर केन्द्रीय संसद्को बैठक सञ्चालन गर्न कर्मचारी अपुग हुने देखिएको बताइएको छ।

त्यसैले उनीहरूलाई फिर्ता गरिने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए।

उनले भने, "नयाँ दरबन्दी सिर्जना भएर पदपूर्ति नभएको र संघमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै बैठक सञ्चालन गर्न पर्ने भएकोले संसद सचिवालयको कर्मचारीले नभ्याउने भएर प्रदेश सभाको सचिवालय प्रशासनकै कर्मचारीले गर्ने निर्णय भएको छ।"

संसद् सचिवालयमा कुल दरबन्दीको आधा करिब २ सय २४ जना स्थायी कर्मचारी छन्।

तीमध्ये सहसचिव, उपसचिव र शाखा अधिकृत गरी तीन-तीनजना कर्मचारी प्रदेश सभा सचिवालयमा खटाइएको थिए।

प्रदेश सभा शपथका झलक

प्रशिक्षण

प्रदेश संसद्‌मा अब प्रशासन सेवाका सहसचिवको नेतृत्वमा कर्मचारी पठाइने निर्णय पछिल्लो मन्त्रिपरिषद् बैठकले गरेको जनाउँदै सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता न्यौपाने भन्छन्, "उहाँहरू १५ दिन जति बस्नुहुन्छ र प्रशासन सेवाका साथीहरूलाई उहाँहरूको काम सिकाउनु हुन्छ। अबको दिनमा प्रशासन सेवाकै कर्मचारीले प्रदेश सभा सचिवालयको काम गर्ने भन्ने स्वीकृत भएको छ।"

कर्मचारी समायोजन ऐन बनाउने बेला देखिनै संसद् सेवाका कर्मचारी प्रदेश र स्थानीय तहमा समायोजन हुन अनिच्छुक रहेको विवरणहरू आएका थिए।

उक्त ऐन प्रारम्भ हुँदाका बखत संसद सेवाका कर्मचारी संघ, प्रदेश वा स्थानीय तहमा जान चाहेमा उनीहरूको शैक्षिक योग्यताका आधारमा मिल्दो सेवा-समूहमा समायोजन गरिने व्यवस्था छ।