शुरूमा सानो मन्त्रिमण्डल बनाउने गृहकार्य

  • 15 फेब्रुअरी 2018
दल तस्वीर कपीराइट .

नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सानो आकारको मन्त्रिमण्डल बनाउने गृहकार्य थालेको नेताहरूले बताएका छन्।

बुधवार निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएपछि नयाँ सरकार गठनको बाटो खुलेसँगै वाम गठबन्धनले तराई केन्द्रित दललाई समेत सहभागी गराउन प्रयास गरिने जनाएको छ।

तर मन्त्रालय बाँडफाँटका बारेमा एमाले र माओवादी केन्द्रबीच अझै सहमति भएको छैन।

बुधवार बसेको एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ।

एमाले-माके कार्यदल 'सहमति नजिक'

विस्तारित

उनको नेतृत्वमा शुरूमा दुई दल सम्मिलित सानो आकारको मन्त्रिमण्डल बनाइने एमालेका नेताहरूले बताएका छन्।

उक्त दलका सचिव प्रदीप ज्ञवालीले भने, "शुरूमा सानो मन्त्रिमण्डल बन्छ र विश्वासको मत लिएपछि हामी त्यसलाई विस्तारित रूप दिन्छौँ।"

संवैधानिक व्यवस्था अनुसार मन्त्रिमण्डल २५ सदस्यीय मात्र बनाउन सकिन्छ।

सरकारमा एमाले र माओवादीकातर्फबाट मन्त्रिमण्डलको बाँडफाँटबारे भने विस्तृत छलफल गर्न बाँकी नै रहेको नेताहरूले बताएका छन्।

एमालले ७० लिने र ३० प्रतिशत मन्त्रालय माओवादीलाई दिने गरी सहमति भएका खबरहरू सार्वजनिक भएका छन्।

सूत्र

तर माओवादी केन्द्रका नेता अग्नि सापकोटा भन्छन्, "३०: ७० को बाँडफाँट भन्ने होइन। आधार मान्ने हो भने पनि ६०: ४० हो। तर त्यही सूत्र अनुसार जाँदैन। थपघट हुन सक्नेछ।"

सरकार गठनको प्रारम्भिक काम सकिएपछि मधेस केन्द्रित दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरिने पनि एमाले सचिव ज्ञवालीले बताए।

सहकार्यका लागि औपचारिक तथा अनौपचारिक वार्ता जारी रहेको र उनीहरू सकारात्मक रहेको पनि उनले बताए।

तराई केन्द्रित दलले संविधान संशोधनका लागि सरकार तयार भए सरकारमा जान सकिने बताउँदै आएका छन्।