यी हुन् तीन प्रदेशका मुख्यमन्त्रीहरू

  • 15 फेब्रुअरी 2018

प्रदेश नम्बर १, २ र ५ मा मुख्यमन्त्रीहरू क्रमश: शेरधन राई, मो. लालबाबु राउत गद्दी र शंकर पोखरेलले बिहीवार पद तथा गोपनीयताको शपथ ग्रहणपश्चात् आफ्नो पदभार सम्हालेका छन्।

शेरधन राई, मुख्यमन्त्री, प्रदेश नं १

प्रदेश नं १ को मुख्यमन्त्रीमा नियुक्त शेरधन राई नेकपा एमालेका वैकल्पिक पोलिट्ब्युरो सदस्य हुन्।

प्रदेशसभाको संसदीय दलको निर्वाचनमा नेता भीम आचार्यलाई दुई मतको अन्तरले पराजित गर्दै उनले यो प्रदेशको पहिलो मुख्यमन्त्री बन्ने अवसर पाएका हुन्।

पार्टीमा संस्थापनपक्ष अर्थात् केपी शर्मा ओली पक्षधर भनेर चिनिएका राई हाल एमालेको प्रदेश नं १ को सह-इन्चार्ज छन्।

विसं २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उनी भोजपुर प्रदेशसभा-'ख'बाट निर्वाचित भएका थिए। यसअघि २०५६ सालको निर्वाचनमा भोजपुर क्षेत्र नं २ बाट संसद्‌को सबैभन्दा कान्छा सदस्यका रूपमा चुनिएका थिए। पछि २०६२-६३ सालको जनआन्दोलनबाट पुन:स्थापित प्रतिनिधिसभा/व्यवस्थापिका संसद्‌मा पनि रहेर उनले काम गरे।

उनी २०६४ मा भएको संविधानसभाको निर्वाचनमा पराजित भए पनि २०७० मा भएको दोस्रो संविधानसभामा भोजपुर क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। उनीसँग संसद्‌को सुशासन तथा अनुगमन समितिको सभापति साथै सूचना तथा सञ्चारमन्त्री एवम् सरकारको प्रवक्ता भएर काम गरेका अनुभव छ।

प्रदेशसभा सांसदका वाचा: विकासका लागि सहकार्य

प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण

विसं २०२७ साल फागुन ११ गते भोजपुरको पसलभञ्ज्याङमा जन्मिएका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

सत्चालीस वर्षीय राई अविवाहित छन्।

मो. लालबाबु राउत गद्दी, मुख्यमन्त्री, प्रदेश नं २

प्रदेश नं २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी संघीय समाजवादी फोरम, नेपालका उपाध्यक्ष हुन्। उनी राष्ट्रिय जनता पार्टी नेपालको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनी पर्साको निर्वाचन क्षेत्र नं १ 'ख' बाट प्रदेशसभामा निर्वाचित भएका हुन्।

विसं २०२३ सालमा पर्सामा जन्मिएका राउत दोस्रो संविधानसभामा समानुपातिक निर्वाचनबाट सभासद् चुनिएका थिए।

उनले अंग्रेजीमा स्नातकोत्तर र कानुनमा एलएलबी गरेका छन्।

उनी २०५८ सालदेखि फोरम नेपालसँग आबद्ध छन्।

सक्रिय राजनीतिमा आउनुअघि उनी वीरगन्ज नगरपालिकामा कर्मचारी थिए। उनले केही वर्ष प्राध्यापन पनि गरेका थिए।

शंकर पोखरेलमुख्यमन्त्री, प्रदेश नं ५

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल नेकपा एमालेका स्थायी समितिका सदस्य हुन्।

तस्वीर कपीराइट RSS

२०१९ सालमा दाङको तुल्सीपुरमा जन्मेका पोखरेल युवाअवस्थादेखि नै राजनीतिमा सक्रिय थिए। उनी सो पार्टीको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका पूर्व अध्यक्ष पनि हुन् ।

पार्टी भित्र वैचारिक नेताको छवि वनाएका पोखरेल २०५१ सालको निर्वाचनमा तत्कालीन दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा चुनिएका थिए।

२०६६ सालमा माधवकुमार नेपालको मन्त्रिमण्डलमा सूचना तथा संचार मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेलले स्नातकोत्तर गरेका छन्।

प्रदेश नं ५ को मुख्यमन्त्री बन्ने शर्तमा आफ्नो निर्वाचन क्षेत्र माओवादी नेता कृष्णबहादुर महरालाई छोडेर उनले प्रदेशसभाको निर्वाचनमा सहभागी भएको चर्चा चल्दै आएको थियो। उनी वाम गठबन्धनका तर्फबाट मुख्यमन्त्री पदका लागि एक्ला दाबेदार थिए।

प्रदेशमा पर्यटन, कृषि र औद्योगिक विकासको प्रशस्त सम्भावना रहेको बताउने पोखरेल अब ती क्षेत्रको विकासका लागि योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।

उनी भन्छन्, "अहिलेसम्म हामीले जनताको मागअनुसार काम गर्‍यौँ। अब ती माग र आवश्यकता पूरा गर्न योजना बनाएर काम गर्छौँ।"

दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि वकालत गर्दै आएका पोखरेल सरकारले बुटवललाई अस्थायी राजधानी घोषणा गरेपछि केही अप्ठेरोमा पनि छन्।

आगामी दिनमा राजधानीको मुद्दा उनका लागि थप पेचिलो बन्न सक्ने देखिन्छ।

प्रदेशसभा समानुपातिकतर्फको नतिजा घोषणा

प्रदेश सभाको पहिलो बैठक: एकतामा जोड

सम्बन्धित सामग्री