'सैद्धान्तिक विषयमा अझै विवाद'

बैठक

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन,

एमाले र माओवादी केन्द्रबीच सैद्धान्तिक विषयमा अझै सहमति बन्न नसकेको ती दलका नेताहरुले जनाएका छन्

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मार्गदर्शक सिद्धान्तका विषयमा अझै सहमति बन्न नसकेको ती दलका नेताहरुले जनाएका छन्।

एकता संयोजन समितिको बुधबारको बैठकमा सैद्धान्तिक विषयमा कुरा नमिलेपछि पार्टी एकताको खाका तयार गर्ने बैठकको लक्ष्य अधुरो हुन पुगेको नेताहरुले स्वीकार गरेका छन्।

उनीहरुका अनुसार एमालेले जनताको बहुदलीय जनवादलाई एकीकृत दलको मार्गदर्शक सिद्धान्त बनाउनु पर्ने अडान राखेको थियो।

'मार्गदर्शक सिद्धान्त'

माओवादी केन्द्रले त्यसका कतिपय अन्तर्वस्तुमा सहमति जनाउन सकिए पनि मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्न नसकिने जवाफ दिएको बताइएको छ।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक विषयमा कुरा मिल्न नसकेको जनाए।

उनले भने, "हामी बहुदलीय जनवाद हाम्रो मार्गदर्शक सिद्धान्तको एउटा अंग हो, त्यसलाई राखौं भनिरहेका छौं। उहाँहरु मार्क्सवाद लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मानौं भन्नुहुन्छ।"

पार्टीको नाम र मूल नेतृत्वबारे करिब सहमति जुटेको भन्दै नेताहरु बाँकी विषय बिहीबार टुङग्याउने भन्दै बुधवारको बैठकबाट बाहिरिएका थिए।

तर बिहीबारका लागि तय भएको बैठक हुन सकेन।

परामर्श

असहमतिमा टुंगिएको बैठकमा भएको छलफलबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो दलका केही नेताहरुसँग परामर्श गरेका छन्।

जहाँ उनले सैद्धान्तिक विषयमै कुरा बल्झिएको जानकारी दिएको प्रचण्डसँगको छलफलमा सहभागी माओवादी नेता मातृका यादवले जानकारी दिए।

उनले भने, "अध्यक्ष प्रचण्डले विचारमै समस्या देखियो, अझै छलफल गर्नु पर्ने अवस्था छ भनेर हामिलाई भन्नु भयो। धेरै कुरा त भएन, तर बहुदलीय जनवादकै विषयले नै नमिलेको हो भन्नु भयो।"

सहमत

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र पार्टीको नेतृत्व केपी ओली र प्रचण्डले संयुक्त रुपमा गर्नेमा दुबै दल सहमत भएको ती दलका नेताहरुले बताएका थिए।

सरकारको नेतृत्व आलोपालो गर्नेबारे दुबै दलका नेताहरुको परस्पर विरोधी धारणा आएका छन्।

तर एकताको निम्ति अहिले मुख्य विवाद बन्न पुगेको विषयको कार्यदल बनाएर टुंगो लगाउने विकल्पमा कुरा भइरहेको दुबै पार्टीका नेताहरुले जनाएका छन्।