शान्ति मन्त्रालयमार्फतका कामहरू ‘अलपत्र’

  • 16 फेब्रुअरी 2018
निर्माण

स्थानीय तह कार्यान्वयनमा आएपछि शान्ति मन्त्रालयमार्फत हुँदै गरेका विकास निर्माणका काम अलपत्र परेको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियरहरूले बताएका छन्।

चारआली झापामा रहेको सर्पदंश उपचार केन्द्रको निर्माण कार्य पैसा अभावका कारण अलपत्र अवस्थामा छ।

पुहाँतुवाडीस्थित सामुदायिक विद्यालयको काम पनि अलपत्र अवस्थामै छ।

उक्त मन्त्रालयमार्फत निर्माण भइरहका झापाका करिब एक सय निर्माणका कामले गति लिन नसकेको जिल्ला प्राविधिक कार्यालय झापाका प्रमुख इञ्जिनियर सुशील श्रेष्ठले बताए।

कर्मचारी अभावले प्रदेशमा काम गर्न ‘समस्या’

बजेट

ती कामहरू सम्पन्न गर्न मन्त्रालयमा पैसा माग गर्दा स्थानीय तहमा जान भन्ने गरिएको उनले जनाए।

"१० देखि ४० प्रतिशतसम्म काम सकिएका छन्। तर मन्त्रालयमा बजेट माग्यो भने स्थानीय तहलाई देखाउँछ। स्थानीय तहमा गयो भने पैसा आएको छैन भन्छन्," श्रेष्ठले भने।

पूर्वका अन्य जिल्लामा पनि स्थानीय तह कार्यान्वयनमा आएयता शान्ति मन्त्रालयमार्फत भइरहेका निर्माणका कामको प्रगति खासै छैन।

बजेट अभाव भएपछि इलामका अलपत्र अवस्थामा रहेका त्यस्ता काम स्थानीय तहलाई नै जिम्मा लगाइएको जिल्ला प्राविधिक कार्यालय इलामका प्रमुख ओमनाथ ढुंगानाले बताए।

उनले भने, "पैसा नआएपछि त्यस्ता विकासका काम हामीले स्थानीय तहलाई नै जिम्मा लगाइसक्यौँ। अब अर्थ मन्त्रालयले त्यतै पैसा देओस्।"

अप्ठ्यारो

स्थानीय तहका पदाधिकारीले भने शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत भइरहेका कामका लागि भनेर तोकेर बजेट नपठाइएका कारण पैसा दिन अप्ठ्यारो भएको बताउने गरेका छन्।

झापाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भने, "अन्य शीर्षक जस्तै शान्ति मन्त्रालयको विकासका काम यी यी हुन् भनेर तोकेर पठाएको भए सजिलो हुनेथियो। नतोकेपछि गाह्रो भएको हो।"

शान्ति मन्त्रालयका सूचना अधिकारी दुर्गाप्रसाद भुर्तेलका अनुसार पैसा निकासा भए पनि योजनाका नाम स्थानीय तहमा नगएकाले त्यस्ता योजनालाई प्राथमिक्तामा राख्नका लागि योजनाका नाम समेत पठाउन अर्थ मन्त्रालयलाई पत्राचार गरिएको छ।

तर स्थानीय तहका अधिकारीहरू भन्छन्, चालु आर्थिक वर्षमा योजनाका नाम नै आए पनि रकम निकासा गरेर तोके अनुसारको काम सम्पन्न गर्न सक्ने अवस्था छैन।

सम्बन्धित सामग्री