'तनाव कम गर्न मिलेर काम गर्ने वाचा'

  • 16 फेब्रुअरी 2018
तस्वीर कपीराइट Reuters
Image caption अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले आफुहरुबीचका मतभिन्नता हटाउन एउटा संयन्त्र बनाइने बताए

संयुक्त राज्य अमेरिका र टर्कीले सिरियालाई लिएर उनीहरुबीचमा उत्पन्न पछिल्लो तनाव कम गर्न मिलेर काम गर्ने वाचा गरेका छन्।

अङ्कारामा बोल्दै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले आफुहरुबीचका मतभिन्नता हटाउन एउटा संयन्त्र बनाइने बताए।

टर्कीले उत्तरी सिरियामा सकृय कुर्द लडाकुहरुलाई अमेरिकाले दिंदै आएको सहयोग आफ्नो मुलुककालागि प्रत्यक्ष खतरा रहेको बताउँदै आएको छ।

कुर्द सीमा फौज योजनाको भर्त्सना

तपाईंको उपकरणमा मिडिया प्लेब्याक सपोर्ट छैन
किन टर्कीका सेना सिरिया पसे?

कार्यदल

टर्कीको राजधानी अङ्कारामा एउटा संयुक्त पत्रकार संमेलनमा बोल्दै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसन र उनका टर्केली समकक्षी मेभलुत काभुसोग्लुले दुई मुलुकहरुबीच विवादित विषय सुल्झाउन कार्यदलहरुले काम गर्ने बताए।

तर थप विवरण दिएनन।

टिलरसेनले भने, "हाम्रो संयुक्त प्रयासमा मनबीजलाई प्राथमिकता दिइने छ।"

टर्कीले यसअघि उत्तर सिरियाली शहर मनबीजमा अमेरिकी समर्थनप्राप्त कुर्द सैन्यहरुमाथि हमला गर्ने चेतावनी दिएको थियो।

अमेरिकाले चाहिं इस्लामिक स्टेट लडाकुहरुसंग भीडन्त गरिरहेका वाइपीजी भनिने कुर्द मिलिसियाहरुलाई सघाउँदै आएको छ।

नियन्त्रण

कुर्द मिलिसियाहरुले मनबीज शहरलाई इस्लामिक स्टेट लडाकुहरुको नियन्त्रणबाट मुक्त गरेका थिए।

टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुले अमेरिकाले कुर्द लडाकुहरुलाई युफ्रेटस नदीको पूर्वी भेगबाट फिर्ता पठाउन मनाउने आफ्नो वाचा पुरा नगरेको आरोप लगाए।

उनले कुर्द लडाकुहरु त्यो इलाकामा रहँदासम्म कहिल्यै पनि त्यस क्षेत्रमा स्थिरता कायम नहुने चेतावनी पनि दिए।

टर्कीले वाइपिजी दक्षिण टर्कीमा कुर्द स्वायत्तताकालागि गएको तीन दशकदेखि लडिरहेको पिकेकेको एक अंग भएको ठान्दछ।

गत महिना आफ्ना सहयोगी सिरियाली विद्रोहीहरुसंगसंगै टर्कीका सैन्यले कुर्द लडाकुहरुलाई धपाउन आफ्रिनमाथि हमला गरेका थिए।

मनबीज शहर आफ्रीनभन्दा झण्डै एक सय किलोमिटर पूर्वमा पर्दछ।

'आक्रामक प्रतिकार'

मनबीज शहरमा अमेरिकी सैनिकहरु पनि रहेका छन् र गत साता एक वरिष्ठ अमेरिकी सैनिक जनरलले त्यहाँ टर्कीका सैन्यले हमला गरेमा अमेरिकाले त्यसको 'आक्रामक प्रतिकार' गर्ने बताएका थिए।

त्यसको जवाफमा टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोआनले उनको मुलुकले अमेरिकाले त्यस्तो प्रयास गरे त्यसलाई असफल तुल्याइदिने चेतावनी दिएका थिए।

इस्तान्बुलस्थित बीबीसीका संवाददाता मार्क लोवेन भन्छन्, अमेरिका तथा टर्की बीच भएको पछिल्लो वार्तामा कुनै ठोस उपलब्धि भएजस्तो देखिंदैन।

तर उनी भन्छन्, अमेरिकी विदेश मन्त्री टिलरसनले 'दुई मुलुकबीचको संबन्धमा संकटको बिन्दु' भनेको पछिल्लो तनाव घटाउन दुबै मुलुक सहमत भएको जस्तो चाहिं देखिन्छ।