‘श्रीमान्‌ले छाडेपछि आफैँसँग प्रेममा परेँ’

  • 18 फेब्रुअरी 2018
प्रेम

मेरा श्रीमान् जब त्यो रात हाम्रो घरबाट बाहिर निस्के, मलाई लाग्यो मेरो सारा संसार नै भताभुङ्ग भयो।

त्यसबेला कुनै आवाज सुनिएन। पूरै सन्नाटा छायो।

म मेरी १० वर्षीया छोरीसँग एक्लै उभिएँ। मेरा वरिपरि तस्वीरहरू अनि हामीले सँगै बिताएका १७ वर्षका सम्झना मात्रै थिए।

मलाई उनले बारम्बार सम्पर्क गरे। उनले यति मात्रै भने- अब हाम्रो सम्बन्ध सकियो। कुनै कारण दिएनन्, उनमा पश्चाताप पनि थिएन।

स्तब्ध

पछि उनका साथीहरूबाट मैले थाहा पाएँ कि उनी आफ्नी एक सहकर्मीसँग गहिरो सम्बन्धमा रहेछन्।

शायद 'स्तब्ध' शब्द त्यसबेलाको मेरो अवस्था दर्शाउन पर्याप्त हुँदैन।

मलाई बाँच्नै मन लागेन। मैले केही औषधिहरू मात्राभन्दा धेरै बढी सेवन गरिदिएँ। म मर्न पनि सक्थेँ। तर म बाँचेँ।

मैले किन महिलासँगै जीवन बिताउने निधो गरेँ?

मैलै उनीभन्दा परको र हाम्रो विवाहबाहेकको जीवनको कल्पना पनि गरेकी थिइनँ।

मैलै मेरो जिन्दगीको मायाले अर्की महिलालाई माया गरेको देख्न सकिनँ।

ममा वास्तविकता स्वीकार्ने हिम्मत थिएन। मेरो जीवनसाथी अर्की महिलाको भएको स्वीकार्न म तयार थिइनँ।

मलाई पीडा र ईर्ष्याले घेर्‍यो।

मैले ती महिलालाई सरापे, म बिर्सिएँ कि पुरूषको पनि भूमिका उत्तिकै हुन्छ।

मैले बुझेँ कि यो अचानक भएको हो।

एकैचोटि धेरै घटनाहरू मेरो मस्तिष्कमा आए र मलाई संकेतहरू बुझ्न सजिलो भयो।

महत्त्व

उनले मलाई महत्त्व दिन छाडिसकेका थिए। म चाहिने जति राम्री थिइनँ या मेरो आम्दानी पर्याप्त थिएन।

'तिमीलाई भेटाउनु मेरो भाग्य हो,' बदलिएर 'तिमी मेरो जीवनमा हुनु मेरो दुर्भाग्य हो' बनिसकेको थियो।

'तिमी सुन्दर छौ,' को साट्टो 'तिमी मेरो लायक छैनौ' बनेको थियो।

शायद शहरमा हुर्किएकी उनकी प्रेमिकाको तुलनामा म गाउँमा हुर्किएकी एउटा फर्सी जस्तै देखिएकी थिएँ।

मेलै लगाएका लुगाहरू उनलाई मन पर्न छाडे।

दाइजोका लागि 'बेहुला' बन्ने महिला

उनी भन्थे, "तिमीलाई अंग्रेजी बोल्न आउँदैन्, कसले तिमीलाई काममा राख्छ?"

म उनको नजरमा मात्रै सानो भएकी थिइनँ। मैले आफूलाई पनि कमजोर नै ठान्न थालिसकेकी थिएँ।

मलाई लाग्न थालेको थियो कि उनले चाहेको जस्तो महिला हुन म योग्य नै थिइनँ।

मैलै घरका सबै काम गर्नुपर्थ्यो। तरकारी किन्नेदेखि कोही बिरामी हुँदा स्याहारसुसार गर्नेसम्म।

उनले मलाई भोजहरूमा, रात्रिभोजहरूमा अनि सामाजिक भेटघाटहरूमा लैजान छाडिसकेका थिए।

आशंका

मैले सबैभन्दा धेरै माया गरेको मान्छे मदेखि टाढा गइरहेको थियो। तर बिस्तारै माया मर्दै गयो।

मेलै केही नमिलिरहेको आशंका गरेँ र पुन: न्यानोपन ल्याउने प्रयास पनि गरेँ। तर सफल भइनँ अनि एक रात उनी मलाई छाडेर हिँडे।

त्यसपछि उनी अर्कै घरमा बस्न थाले र म मेरा सासु-ससुरा र छोरीसँग बस्न थालेँ।

खासमा उनीहरूले चाहेर म त्यसरी बसिरहेकी थिइनँ। उनी फर्कन्छन् कि भन्ने आस मैले गरेकी थिएँ।

उनी आउने आसमा कसैले ढोका ढकढक्याउँदा पनि म आफैँ ढोका खोल्न जान्थेँ। तर काम गर्ने महिला या सामान ल्याइदिने मान्छेलाई ढोकामा देख्दा म निराश हुन्थेँ।

मैले मेरो जीवन नै उनको वरिपरि सोचेकी थिएँ। म बूढी हुँदै गइरहेकी थिएँ। फेरि नयाँ सम्बन्ध शुरू गर्ने समय थिएन।

मेरी छोरी र मेरो मानसिक अवस्थाबारे बुझ्न सक्ने भइसकेकी थिइनँ।

मेरो स्वास्थ्य ब्रिग्रियो। उनको काँधमा आराम गर्ने चाहा ममा बाँकी नै थियो। उनले दिएको घाउमा मलहम लागइदिन मलाई उनी नै चाहिएको थियो।

उनले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरे। तर म अझै लडिरहेँ।

सम्मान

मलाई टुटिसकेको विवाह जोगाउन म लडिरहेको छु भन्ने बुझ्न तीन वर्ष लाग्यो। त्यो पनि मेरो जीवनमा नै नरहेको व्यक्तिका लागि।

अन्त्यमा म थाकेँ। अदालतका इजलासका कोठा चहार्दा, वकिललाई जवाफ दिँदा र मुद्दा लड्ने खर्च जुटाउँदा-जुटाउँदै म थाकिसकेँ।

मैले सहमतिमा नै सम्बन्ध विच्छेद गर्ने निर्णय लिएँ। त्यसपछि मेरो नयाँ हैसियत 'सम्बन्ध विच्छेद गरेकी महिला' भयो जसलाई समाजमा खासै सम्मान गरिँदैन।

त्यसबेला म ३९ वर्षकी थिएँ।

मेरो लागि पहिलो चुनौती कोठा पाउनु भयो। मलाई प्रश्न गरिन्थ्यो, "तपाईँका श्रीमान् कहाँ छन्? उनी कहाँ जागिर खान्छन्?"

त्यसबारे जवाफ दिन म तयार थिइनँ। म पुराना यादहरू ताजा गर्ने स्थितिमा थिइनँ।

मेरा साथीहरूले मलाई उक्त पीडाबाट निस्कन सघाए। उनीहरू परी जस्तै मेरो जीवनमा आए।

उनीहरूले मलाई हिम्मत जुटाउन आडभरोसा दिए र एक्ली आमाका रूपमा बाँच्न सक्ने बनाए।

त्यो सजिलो भने थिएन।

उनले तत्कालै सँगै काम गरेकी महिलासँग विवाह गरे। जब-जब मैले उनीहरूलाई सँगै देख्थेँ मेरो घाउ पुनः बल्झिन्थ्यो।

सफलता

मेरो जिन्दगीमा मसँग मेरो काम र मेरी छोरी मात्रै थिए।

मेलै मेरो काममा बढी जोड दिए र व्यावसायिक क्षेत्रमा सफलता हात पारेँ।

मैले अध्ययनमा र आफ्ना धारणा ब्लगमा लेख्न आफूलाई व्यस्त राखेँ। लेखनको मेरो शोखलाई अझै बढाएँ।

श्रीमान्‌का लागि खाना पकाउनुको सट्टा साथीहरूका लागि पकाउन थाले।

भोजहरू आयोजना गरेँ, छोटा यात्राहरूको योजना बनाएँ र तस्वीरहरू खिच्न थालेँ जसबाट नयाँ सम्झनाहरू संग्रहित हुन थाले।

उनको अभावले एक्लिएकी मैले त्यसलाई पूर्ति गर्न इन्टरनेटमा पनि साथीहरू बनाएँ।

त्यसक्रममा भएका संवादहरूले मलाई मेरासामु ठूलो विश्व छ भन्ने महसुस गरायो।

मेरो एक्लोपनलाई बिस्तारै फेसबुकमा मैले राखेका पोष्टहरूमा आएका 'कमेन्ट्स' र 'लाइक' ले पुर्दै गए।

मलाई मेरो परिवार मात्रै मेरो जीवन हो जस्तो लागेको थियो। तर अहिले मैले मेरो विश्वलाई फराकिलो बनाएकी छु।

ऊर्जा

मेलै सीमान्तकृत बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा संस्थामा स्वयंसेविकाकी रूपमा पनि काम गरेँ र त्यो मेरा लागि सकारात्मक ऊर्जाको स्रोत बन्यो।

म जिन्दगीमा पुन: फर्किएँ, मेरा सामर्थ्य बुझेँ र मैले विद्यावारिधि गरेँ।

उनले मबाट खोसेका सबै चीज मैले फिर्ता ल्याएँ। लजाउनुको साटो म सामाजिक भेटघाट र विवाहहरूमा जान थालेँ।

र, मैले आकर्षक पहिरन त्यसमा पनि सुन्दर सारीहरू लगाएँ। त्यो सम्बन्ध विच्छेद गरेर एक्लै भएका महिलाहरु निराश मात्रै भएर बस्छन् भन्नेहरूका लागि मेरो शान्त तर दृढ जवाफ थियो।

उनीहरू मेरा बारेमा अनेक लख काटेर आँखा तर्थे। तर मेरा आँखाहरूले चम्किलो भएर त्यसप्रति विद्रोह गर्थे।

मेलै अर्को सुन्दर घर बनाएँ र मैले आफ्नो कामको सिलसिलामा अन्य देशहरूको पनि भ्रमण गरेँ।

चार वर्षपछि अहिले मेलै अर्कै जागिर पाएकी छु र त्यो शहर छाडेर नयाँ ठाउँमा बस्ने साहसिक निर्णय लिएकी छु।

अहिले मैले एक स्वतन्त्र महिलाकी रूपमा पुनर्जन्म पाएकी छु।

आज मलाई कसैको काँध चाहिएको छैन। म एक्लै अँध्यारोमा पनि निर्धक्क भएर हिँड्न सक्छु।

(यो दक्षिण भारतमा बस्ने एक महिलाको वास्तविक कथा हो। ती महिलाको अनुरोधमा उनको परिचय गोप्य राखिएको छ। उनले आफ्नो कथा बीबीसी संवाददाता पदमा मिनाक्षीलाई सुनाएकी थिइन् र यो सामग्री बीबीसीकी दिव्या आर्याले तयार पारेकी हुन्।)